मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले व्यवस्था चलाउन सरकार कठोर बन्नु पर्ने बताएका छन् । सोमबार विपी कोइरालाको स्मृतिमा स्थापित वाचनालय र कांग्रेस मकवानपुर संस्थापक सभापति सूर्यबहादुर डिमडुङको स्मृतिमा निर्मित भवनको उद्घाटन गर्दै मुख्यमन्त्री बानियाँले उक्त कुरा बताएका हुन् ।
‘व्यवस्था चलाउन सरकार कठोर बन्नु पर्छ तर निर्दयी बन्नु हुँदैन’ उनले भने । पछिल्लो समय राजनीतिमा प्रतिशोधको भावना बढेको उनले बताए । ‘राजनीतिमा संकटकाे बेला संघर्ष गर्ने नेतृत्वको अभाव देखिए छ’ उनले भने पार्टीभित्र राजनीतिक धैर्यता कमजोर बन्दै गएको छ ।’ मुख्यमन्त्री बानियाँले महाधिवेशनको कार्यतालिका सार्वजनिक भएसँगै कांग्रेस फुट्छ भन्ने भ्रम अन्त्य भएको उनले बताए । गणतन्त्रमा हिंसा, तोडफोड र व्यक्तिको घर जलाउने जस्ता कार्य किमार्थ स्वीकार्य नहुने उनकाे भनाई छ ।
हेटौंडाकाे बजार क्षेत्रकाे सडक विस्तारकाे प्रसंङ्गमा उनले अव्यवस्थित सडक विस्तारका कारण हेटौंडाको अवस्था अहिले प्रेतआत्माको शहर जस्तो देखिएको बताए । ‘हेटौंडालाई अँध्यारो बनाउने काम भएकाे छ उनले भने ‘प्रेतआत्माको शहर जस्तो भएको छ ।’ सरकारले उचित व्यवस्थापन र विकल्प विना नै घरहरू भत्काउँदा शहर कुरूप बनेको उनले बताए ।
हेटौंडा मानव विनाको शहर जस्तो देखिएको उनकाे भनाई छ । हेटौंडालाई अँध्यारो बनाउने काम भएकाेले यसलाई तीनै तहका सरकारले मिलेर तत्काल निकास दिनुपर्ने उनले बताए ।

