मकवानपुर । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिकाकाे बजार क्षेत्रकाे सडक विस्तारकाे लागि रेखांकन सुरु गरिएकाे छ । सडक विस्तारलाई अगाडी बढाउन बुधबार गठन गरिएको विशेष टास्क फोर्सले रेखांकनकाे कार्य सुरु गरेकाे हाे । टास्क फोर्सले बुधबारबाटै कार्य प्रारम्भ गरेकाे थियाे ।
बुधबार माइकिङसहित प्रारम्भिक कार्य सुरु गरेकाे टिमले सडक अतिक्रमण गरी निर्माण गरिएका स्थायी तथा अस्थायी संरचना हटाउन बिहीबारबाट रेखांकन र रङ लगाउने काम सुरु गरेको हाे । टिमले हेटौंडा १५, रातोमाटेबाट रोखांकन कार्य सुरु गरेको हो ।सडक विस्तारलाई व्यवस्थित बनाउन जिल्ला प्रशासन कार्यालय मकवानपुरले विशेष ‘टास्क फोर्स’ गठन गरेको थियो । सडक डिभिजन कार्यालयका इन्जिनियर यादव सुवेदी संयोजक रहेको उक्त समितिमा हेटौंडा उपमहानगरपालिका, जिल्ला प्रहरी कार्यालय, नापी कार्यालय, खानेपानी व्यवस्थापन बोर्ड, वन कार्यालय, नेपाल विद्युत् प्राधिकरण, दूरसञ्चार प्राधिकरणलगायतका प्रतिनिधिहरू छन् ।
डिभिजन सडक कार्यालयले ५ मंसिरमा सार्वजनिक सूचनामार्फत महेन्द्र राजमार्गकाे रातोमाटेदेखि बुद्धचोक हुँदै राप्ती पुलसम्म तथा त्रिभुवन राजपथकाे बुद्धचोकदेखि सामरी पुलसम्म सडकको दायाँ–बायाँ २५–२५ गज क्षेत्रभित्र पर्ने संरचना हटाउन आग्रह गरेकाे थियाे । उक्त सूचनाकाे समय आगामी १९ मंसिरमा सकिँदै छ ।
उक्त अवधि भित्र संरचना घनी स्वयंले सडक क्षेत्र भित्र पर्ने संरचना नहटाए मंसिर २० गते बिहानैदेखि डोजर परिचालन गरी सडक विस्तार अघि बढाइने डिभिजन सडक कार्यालय हेटौंडाले जनाएकाे छ । चार विभिन्न स्थानबाट एकैपटक डोजर चलाइने तयारी भएकाे बताइएकाे छ ।
विस्तार सहज बनाउन बाइपासकाे तयारी
सडक विस्तार कार्य सहज बनाउन हेटौंडामा वैकल्पिक बाइपास मार्ग तयारी गरिने भएकाे छ । मकवानपुरका प्रमुख जिल्ला अधिकारी बसन्त अधिकारीसहित डिभिजन सडक कार्यालयकाका प्राविधिकले चौकीटोलदेखि रातोमाटेसम्मको बाइपास सडकको अवस्था निरीक्षण गरेका छन् । मुख्य बजार क्षेत्रमा सडक विस्तारका कारण सवारी सञ्चालनमा अवरोध हुने भएकाले मंसिर २० गतेदेखि बजार क्षेत्रमा सवारी आवागमन रोक्ने तयारीमा प्रशासन रहेकाे छ ।
वैकल्पिक मार्गका रूपमा काठमाडौं–भैँसेबाट आउने सवारी चौकीटोल हुँदै राप्ती उकास क्षेत्र र त्रिवेणीधाम हुँदै रातोमाटेतर्फ, पूर्व–पश्चिम राजमार्गबाट पूर्व जाने सवारी राप्ती किनार हुँदै रातोमाटे तर्फ, मदन भण्डारी लोकमार्ग तथा कान्तिलोकपथबाट आउने सवारी कमाने हुँदै रातोमाटे निकाल्ने व्यवस्था मिलाइँदैछ ।
हेटौंडाकाे सडक विस्तारकाे लागि यस अघि पटक पटक सूचना प्रकाशित हुदै रोकिदै आएकाे थियाे । सडक विस्तारकाे लागि सर्वोच्च अदालतकाे फैसलाले नै कानुनी मार्ग खुला गरिदिएकाेले कार्यान्वयन गरिने सरोकारवाला निकायले बताउँदै आएकाे छ । सडक विस्तार हुने क्षेत्रमा करिव ५ सय ३० घर–टहरा सहितकाे संरचना पर्ने सडक डिभिजन कार्यालयले जनाएको छ ।

