मकवानपुर । नेकपा एमाले मकवानपुरबाट पार्टीको ११ औं केन्द्रिय महाधिवेशनको लागि प्रतिनिधि चयन गर्न उम्मेदवारी दर्ता गरिएकाे छ । मकवानपुरकाे क्षेत्र नम्बर १ र २ बाट १६ जना प्रतिनिधि चयनका लागि ८० जनाले निर्वाचन प्रक्रियामा भाग लिन उम्मेदवारी दर्ता गरेका हुन् ।
नेकपा (एमाले) को ११ औ महाधिवेशन मंसिर २७–२९ गते काठमाडौँमा हुने तयारी संगै मकवानपुर एमालेले प्रतिनिधि चयन प्रक्रिया अगाडि बढाइएकाे हाे । जिल्लाको निर्वाचन क्षेत्र नम्बर १ बाट खुला तर्फ ३० जनाले उम्मेदवारी दिएको निर्वाचन कमिटी संयोगक सूर्य चन्द्र न्यौपानेले जानकारी दिए । यस्तै महिला तर्फ ८ जना र युवा तर्फ १० जनाले उम्मेदवारी दिएको उनले बताए । न्यौपानेका अनुसार निर्वाचन क्षेत्र नम्बर २ बाट खुला तर्फ १६ जना, महिला तर्फ १० र युवा तर्फ ६ जनाले उम्मेदवारी दर्ता गराएका छन् ।
क्षेत्र नम्बर १ बाट ८ जना र क्षेत्र नम्बर २ बाट ८ जना निर्वाचित हुने छन् । दलित क्षेत्र अन्तरगत १ जना प्रतिनिधिकाे लागि जिल्ला भरिबाट निर्वाचित हुने छन् । क्षेत्र नं १ बाट खुला ४ जना, महिला ३ जना र युवा १ जना गरी ८ जना तथा क्षेत्र नं २ बाट खुला ४ जना, महिला ३ जना र युवा १ जना गरी ८ जना निर्वाचित हुने एमाले मकवानपुरले जनाएको छ । महाधिवेशनको लागि जिल्लाबाट १७ जना प्रतिनिधि चयन हुने छन् । उक्त प्रतिनिधि चयनको लागि आगामी १३ गते निर्वाचन हुने बताइएको छ । प्रतिनिधि छनौटका लागि क्षेत्र नं १ बाट ४ हजार १०९ जना, क्षेत्र नं २ बाट ४ हजार २६४ जना र दलित क्षेत्रबाट २६२ जना मतदाता रहेकाे एमाले मकवानपुरले जनाएकाे छ ।
यसै बीच एमाले महाधिवेशन प्रतिनिधिका लागि स्थानीय तहका निर्वाचित जन प्रतिनिधि, प्रदेशमा प्रतिनिधित्व गर्ने प्रदेश सभा सदस्य पूर्व सांसदहरुले समेत उम्मेदवारी दर्ता गराएका छन् । हेटौडा उपमहानगरपालिका–४ का वडाध्यक्ष नवीन सिग्देल, १८ का वडाध्यक्ष अनिकुमार बानियाँ, १० का वडाध्यक्ष फुर्वादोर्जे लामा, १५ का वडाध्यक्ष सुनिल मुक्तान, ११ का वडाध्यक्ष जुना दाहाल लगायतका छन् ।
दाहालले मकवानपुर क्षेत्र नं. २ बाट महिला तर्फ महाधिवेशन प्रतिनिधिका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका छिन् भने अन्यले क्षेत्र नं. १ बाट खुला तर्फ महाधिवेशन प्रतिनिधिका लागि आफ्नो उम्मेदवारी दर्ता गराएका हुन् । प्रदेश सभा सदस्य एकालाल श्रेष्ठ तथा भीमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले क्षेत्र नम्बर २ बाट उम्मेदवारी दर्ता गराए । स्थानीय तहका पूर्व जनप्रतिनिधिहरुले समेत उम्मेदवारी दर्ता गराएका छन् ।
वडाध्यक्ष सिग्देलले सामाजिक सञ्जालमार्फत पार्टी सदस्यहरूलाई प्रतिनिधि छनोटसहित सबै प्रक्रियामा सक्रिय भूमिका निर्वाह गर्न आग्रह गरेका छन् । उनले पार्टी एकता, नीति तथा नेतृत्व निर्माणमा महाधिवेशनको महत्वपूर्ण भूमिका रहने उल्लेख गर्दै सबैको सहयोग र साथको अपेक्षा व्यक्त गरेका छन्। ‘लाेकतान्त्रिक विधिकाे सर्वाेकृष्ट पद्वति सर्वसम्मतिबाट छनाैट गर्न सबैकाे पहल आवश्यक रहेकाे छ’ उनले भने ‘सर्वसम्मत विधिबाट प्रतिनिध चयन हुन हुन नसक्दा मित्रवत् प्रतिस्पर्धामा सहभागी भई छनौट गरिने छ।’ ‘हामी स्वस्थ र पार्टीकाे सदस्यहरुकाे भावनाका साथ अगाडि बढाैँ । पार्टीकाे आन्तरिक जीवनलाई अझ सुदृढ र बलियाे बनाऔँ ’ उनले भने ।
भक्तपुरकाे सल्लाघारीमा २७ मंसिरमा उद्घाटन भई काठमाडौंकाे भृकुटी मण्डपमा बन्दसत्र हुने एमालेको ११औँ महाधिवेशनमा देशभरका प्रतिनिधि सहभागी हुनेछन्।





