चितवन । चितवनका कवि मेनका चापागाईंको कवितासङ्ग्रह ‘मनको अदालत’ सार्वजनिक गरिएको छ । गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानको आयोजनामा आइतबार ११७ औँ लक्ष्मी जयन्ती विषेश कार्यक्रममा उक्त कृति लोकार्पण गरिएको हो ।
गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका कुलपति गोविन्दराज विनोदी, नगर प्रमुख मदनभक्त अधिकारी र कवि चापागाईंका मातापिताले कृति लोकार्पण गरेका हुन् । कृतिमा समसामयिक विषयवमा लेखिएका ६९ वटा कविता सङ्ग्रहित छन् । स्कुले जीवनदेखि नै साहित्य सिर्जना गरेको चापागाईंले कोरोनाकालमा कविता लेखनमा सक्रिय भएको बताउँछिन ।
कृतिमाथि प्राध्यापक रञ्जना लामिछाने र उदय अधिकारीले परिचर्चा समेत गरेका थिए । डाक्टर भूमिराज चापागाईंले कविको परिचय गराउँदै चापागाईं कविता पारखी भएको बताए । वीरेन्द्र बहुमुखी क्याम्पसका उपप्राध्यापक रमेश प्रभातले कवि चापागाईंको कविता लेखनको धार बलियो देखिएको बताए । कार्यक्रममा उदितप्रकाश सिग्देल, एकदेव रिमाल र विष्णु पन्थीले मनको अदालत कवितासङ्ग्रहबाट एकएकवटा कविता वाचन गरेका थिए । गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानबाट प्रकाशित चापागाईंको पहिलो पुस्तकको मूल्य ३५१ रुपैयाँ रहेको छ ।
सोही कार्यक्रमको पहिलो खण्डमा कवि मनोज भण्डारीले महाकवि लक्ष्मीप्रसाद देवकोटाको साहित्यिक योगदानको चर्चा गर्दै देवकोटाका केही श्लोकहरु वाचन गरेका थिए । गैंडाकोट नगर प्रज्ञाप्रतिष्ठानका उपकुलपति भीमप्रसाद शर्माले स्वागत गरेको कार्यक्रमलाई साहित्यकार लेखराम सापकोटाले सहजीकरण गरेका थिए ।

