मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बहादुर बानियाँले राजनीति गरेको मानवताका लागि भएकाे बताएका छन् । मुख्यमन्त्री बानियाँले विपन्न दलित एवं एकल महिलालाई घर हस्तान्तरण गर्दै यस्तो बताएका हुन् ।
उनले आइतबार मकवानपुर मनहरी–९ की मिठुमाया सुनारको घर निर्माण गरेर हस्तान्तरण गरेका हुन् । ‘हामीले राजनीति गरेकाे मानवताकाे लागि हाे’ हस्तान्तरण कार्यक्रममा उनले भने ‘गरिबलाई न्याय, गरिबलाई आयको सिद्धान्तमा हामी अघि बढिरहेका छौँ । गरिबमुखी, गाउँमुखी, विकासमुखी र जनमुखी काम गर्न हामी प्रतिबद्ध छौँ ।’
सोही अवसरमा मुख्यमन्त्री बानियाँले बाख्रा पालन गरी जीविकोपार्जन गर्न मिठुमायालाई २० हजार रुपैयाँ आर्थिक सहायता समेत प्रदान गरेका थिए । उनले आफ्नो व्यक्तिगत लगानी र मुख्यमन्त्रीको सुविधाबाट मकवानपुरको राक्सिराङ र कैलाशमा थप २ वटा यस्ता घर निर्माण गर्दैछन् । हस्तान्तरण गरिएको घर सरकारी अनुमान अनुसार करिब ७ लाख लागतको छ । आरसीसी पिल्लर सिस्टमको उक्त घरमा ३ कोठा, शौचालय, बत्ती, पानी लगायतको सुविधा छ ।
मुख्यमन्त्री बानियाँले प्रदेशभरिका १ हजार विपन्न परिवारका लागि प्रदेश सरकारमार्फत घर निर्माण गर्ने योजना घोषणा गरेका छन् । घरसँगै छानामुनि बस्नेको खाना र नाना (रोजगारी) को पनि व्यवस्था गर्न सरकारले आयआर्जनका कार्यक्रम ल्याउने उनको भनाइ छ । मुख्यमन्त्री नियुक्त भएपछि बानियाँले आफ्नो पारिश्रमिकबाट घरबार विहीन विपन्न दलित तथा एकल महिलाका लागि घर निर्माण गरिदिने घोषणा गरेका थिए । सोही बमोजिम उनले सुनारको घर निर्माण गरि हस्तान्तरण गरेका हुन् ।
घर हस्तान्तरण कार्यक्रमा सहकारी तथा गरिबी निवारण मन्त्री बिनु रायमाझी, मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेती, नेपाली कांग्रेस बागमती प्रदेश सदस्य जानकी लामा लगायतको सहभागिता रहेको थियो ।

