मकवानपुर । झ्वाट्ट हेर्दा कुनै मन्त्रालय जस्तो वा सरकारी प्रशासनिक भवन जस्तो । पुर्व पश्चिम राजमार्गको हेटौंडा–११ थानाभर्याङ खण्डको आडैमा रङ्गरोगनले चट्ट देखिने यो भवन । यो तरकारी बजार हो भनेर अनुमान गर्नै नसकिने ।
३० करोड ८७ लाख लागतमा निर्माण गरिएको तरकारी बजार उद्घाटन तथा हस्तान्तरण गरिएको हो । हेटौंडा उपमहानगरपालिका–११ थानाभर्याङमा निर्माण सम्पन्न भएको प्रादेशिक कृषि थोक बजारको निर्माण सम्पन्न भएको वर्षदिन पछि सदुपयोगमा आउने भएको हो ।
हो यही प्रदेशिक तरकारी बजार निर्माण सकिएको वर्षदिनपछि हस्तान्तरण गरिएको छ ।बागमती प्रदेश सरकारका कृषि तथा पशुपन्छी विकास मन्त्री प्रकाश श्रेष्ठ र हेटौंडा उपमहानगरपालिकाकी मेयर मिना कुमारी लामाले संयुक्त रूपमा बजारको उद्घाटन गरेका छन् । साेही अवसरमा मन्त्री श्रेष्ठले थोक बजारको औपचारिक रुपमा साँचो नगर प्रमुख मिनाकुमारी लामालाई हस्तान्तरण गरिएको हो । अब बजारको व्यवस्थापनको जिम्मेवारी उपमहानगरपालिकाले गर्नुपर्नेछ ।
सुविधासम्पन्न उक्त कृषि थोक बजार सञ्चालनमा आएपछि हेटौंडा र आसपासका क्षेत्रका कृषक, व्यापारी तथा उपभोक्तालाई व्यवस्थित व्यापारिक पूर्वाधार उपलब्ध हुने अपेक्षा गरिएको छ । एउटै घरमा ६ वटासम्म मन्त्रालय राखेर, झ्याल झ्यालमा मन्त्रालयको बोर्ड झुड्याएपछि चर्चामा आएको बागमती प्रदेशको राजधानीमा यो तरकारी बजार निर्माण सम्पन्न भएको एक वर्षपछि बल्ल हस्तान्तरण गरिएको छ ।
प्रदेशको मन्त्रालय बन्न नसके पनि प्रादेशिक थोक तरकारी बजार अब प्रयोगमा ल्याउने सकिने अवस्थामा तयार भएर पनि एक वर्ष अलपत्र अवस्थामै रह्यो । कसरी कुन मोर्डालिटीमा सञ्चालन गर्ने भन्ने कार्यविधि नबनाएको बाहानामै बित्य एक वर्ष। कृषि उत्पादनलाई प्रोत्साहन गर्नेको लागि निर्माण गरिएको थोक बजार कार्यविधिकै अभावमा अलपत्र थियो ।
प्रदेशको आर्थिक मामिला तथा योजनामन्त्री कुन्दनराज काफ्लेले २०८१ भदौमा बजारको स्थलगत निरीक्षण गर्दै लगत्तै सञ्चालन गर्न निर्देशन दिएका थिए । तर त्यो निर्देशन लागु हुन एक वर्ष लाग्यो। थोक बजारको भौतिक संरचना तयार भएसँगै कार्यविधि निर्माणमा समय लागेको मन्त्रालयले जनाएको छ ।
भवन हस्तान्तरण हुनु अघि कार्यविधि बनाइसक्नु पर्ने तर कार्यविधि निर्माणका मत बाझिइरहेने गरेको कारण समस्या भएको थियो । प्रदेश सरकार र हेटौंडा उपमहानगरपालिकाबीच यसअघि नै थोक बजार निर्माणको सम्झौता भएर सञ्चालनको जिम्मा उपमहानगरपालिकाको कार्यालयले लिने सहमति भएको थियो ।
हेटौंडा उपमहानगरका प्रवक्ता सविन न्यौपानेले कार्यविधि बनेपछि यो थोक बजार उपमहानगरपालिकाले सञ्चालन गर्न उपमहानगरपालिका तयार रहेको बताए ।
प्रदेश सरकारले ७०/३० को लगानी मोडलअनुसार दुई बिघा ४ धुर क्षेत्रफलमा तीन वर्ष लगाएर थोक बजार निर्माण गर्ने लक्ष्यसहित १४ भदौ २०७७ मा हेटौंडा उपमहानगरपालिकासँग सम्झौता गरेको थियो ।
सम्झौताको एक वर्षपछि थोक बजार निर्माण थालिएको थियो । थोकबजार निर्माणका लागि अनक/माउण्टेन जेभी काठमाडौंले ३० करोड ८७ लाख ६२ हजार ७ सय ८७ रुपैयाँमा ठेक्का पाएको थियो ।
९ जेठ २०७८ मा काम सुरु गरेको कम्पनीले जेठ २०८१ भित्र सम्पन्न गर्नुपर्ने सम्झौतामा थियो । ७ महिना म्याद थप भएकाले ८ मंसिरसम्ममा काम सम्पन्न गरेको दावी गरएिको छ । कृषि विकास निर्देशनालय बागमती प्रदेशले कृषि थोक बजारको भौतिक प्रगति ९६ प्रतिशत भएको जानकारी दिएको छ ।
थोक बजार निर्माणका लागि हेटौंडा उपमहानगरले तत्कालीन समयमा थानाभर्याङस्थित राप्ति पुल नजिकैको जग्गामा रहेका ५८ वटा घर/टहरा हटाएको थियो । जग्गा खाली गरेपछि १८ असार २०७८ मा बागमतीका तत्कालीन मुख्यमन्त्री डोरमणि पौडेल र उपमहानगरका मेयर हरिबहादुर महतले शिलान्यास गरेका थिए ।
यस्तो छ थोक बजार

थोक बजारमा होलसेल मार्केट, रिटेल (खुद्रा) मार्केट, किसानको टहरा, प्रशासनिक तथा क्यान्टिन, कोल्ड स्टोरेजलगायतका संरचना तयारी छ । बजारको होलसेल मार्केटमा ४० वटा सटर र रिटेल मार्केटमा २३ वटा सटर रहेको छ । भवनमा अण्डरग्राउण्ड पार्किङको पनि सुविधा छ ।
एउटै भवनमा दुई वटासम्म लिफ्ट छ । बजारक्षेत्र प्रवेशको लागि ३ वटा ठुला मुख्य गेटहरु राखिएको छ । गेटमा सुरक्षाकर्मी राखिने छ, सुरक्षा पोष्ट निर्माण गरिएको छ ।
अन्तर्राष्ट्रिय मापदण्ड अनुसार यो थोक बजार निर्माण गरिएको हो । ताजा तरकारी भण्डारण, शीतभण्डार, प्याकिङ, ग्रेडिङ र प्रशोधन जस्ता कार्य यहाँबाट गर्न सकिने छ ।
हेटौंडा १० मा रहेको तरकारी बजारलाई व्यवस्थित गर्न २ वर्ष अघि हेटौंडा १ स्वर्गद्वारीमा उपमहानगरपालिकाले बजार सारेको थियो । अब त्यही तरकारी बजार फेरी हेटौंडा ११ स्थित यो संरचनामा सारिने छ ।

