मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले स्वकीय सचिव मार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा पेस गरेका छन् ।
सोमबार बहादुरको तर्फबाट स्वकीय सचिव छत्र बहादुर लामाले प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाका प्रमुख स्वकीय सचिव बलराम गैरेमार्फत प्रदेश प्रमुखसमक्ष राजीनामा पत्र पेस गरेका हुन् ।
लामाले आइतबार पत्रकार सम्मेलन नै गरेर पदबाट राजीनामा दिएको घोषणा गरेका थिए । लामाले नेपालको संविधानको धारा १६९ को उपधारा १ (क) अनुसार मुख्यमन्त्री पदबाट राजीनामा दिएका हुन् ।
यसैगरी प्रदेश प्रमुख देवकोटा अस्पतालबाट स्वास्थ्य लाभ गरी सोमबार नै कार्यालयमा उपस्थित भएका थिए । आइतबार अस्पतालबाट डिस्चार्ज भएका उनी सोमबार सिमरा हुँदै हेटौँडास्थित कार्यालय आएका हुन् ।
स्वास्थ्यमा समस्या देखिएपछि प्रदेश प्रमुख देवकोटा गत साउन १५ गते काठमाडौँको धापासीस्थति ग्रान्डी अन्तर्राष्ट्रिय अस्पतालमा भर्ना भएका थिए ।
लामाले राजीनामा पत्र बुझाएसँगै अब नयाँ मुख्यमन्त्री नियुक्ति प्रक्रिया सुरु हुनेछ । बागमतीकाे छेटौं मुख्यमन्त्रीमा काँग्रेस बागमती प्रदेश सभापति तथा संसदीय दलका नेता इन्द्र बहादुर बाँनियाले सत्तारुट दल नेकपा एमालेकाे समर्थनमा दावी पेश गर्नेछन् ।

