मकवानपुर । नेपाली कांग्रेस बाग्मती प्रदेश संसदीय दलको नेताबाट बहादुरसिंह लामालाई बुधबार (आज)बाट औपचारिक रूपमा हटाइँदै छ । संसदीय दलको नेताबाट हटाए पनि मुख्यमन्त्री पदबाट राजीनामा नदिने लामाको भनाइ सार्वजनिक भएको छ ।
यदि, संसदीय दलका नेताबाट हटाइए पनि मुख्यमन्त्री पदबाट लामाले राजीनामा नदिए राजनीति कसरी अगाडि बढ्छ भन्ने प्रश्न उठेको छ । संवैधानिक हिसाबले संसदीय दलको नेताबाट लामालाई हटाइए पनि लामा मुख्यमन्त्री रहिरहनेछन् । संविधानको धारा १६८ को उपधारा २ अनुसार दुई वा दुईभन्दा बढी दलको समर्थनमा उनी मुख्यमन्त्री बनेका हुन् । यसका लागि संसदीय दलको नेता हुनु आवश्यक छैन । प्रदेशसभा सदस्य जो पनि मुख्यमन्त्री बन्न सक्छन् ।
तर, मुख्यमन्त्री बन्नका लागि प्रदेशसभामा बहुमतको समर्थन चाहिन्छ । दलको नेताबाट हटेका आधारमा मात्र उनलाई पदबाट हटाउन सकिँदैन । बाग्मती प्रदेश मुख्य न्यायाधिवक्ता शुकदेव काफ्लेले भने, ‘जबसम्म प्रदेशसभामा मुख्यमन्त्रीले विश्वासको मत गुमाएको औपचारिक प्रक्रिया अगाडि बढ्दैन, तबसम्म उहाँ पदमा रहन सक्नुहुन्छ ।’

मुख्यमन्त्री फेर्ने औपचारिक प्रक्रिया अगाडि बढाउन संविधान बाधक देखिन्छ । ‘संविधानको धारा १८८ को (४) अनुसार प्रदेशसभामा तत्काल कायम रहेका सम्पूर्ण सदस्यमध्ये एक चौथाइ सदस्यले मुख्यमन्त्रीमाथि प्रदेशसभाको विश्वास छैन भनी लिखित रूपमा अविश्वासको प्रस्ताव पेस गर्न सक्नेछन् ।
तर, मुख्यमन्त्री नियुक्त भएको पहिलो २ वर्षसम्म र एकपटक राखेको अविश्वासको प्रस्ताव असफल भएको १ वर्षभित्र त्यस्तो अविश्वासको प्रस्ताव पेस गर्न सकिनेछैन’ भनी उल्लेख छ ।
यस परिवेशमा लामालाई पद छोड्न नैतिकताबाहेक अन्य बाध्यात्मक कारण देखिएको छैन । मुख्य न्यायाधिवक्ता काफ्लेका अनुसार मुख्यमन्त्री लामाले संवैधानिक व्यवस्था, राजनीतिक सल्लाह र नैतिकमा अगाडि बढ्न सुझाए ।
राजनीतिक वृत्तमा भने लामाले अब छिट्टै राजीनामा दिनसक्ने चर्चा चलाइएको छ । यदि, उनले राजीनामा दिए भने नयाँ मुख्यमन्त्री चयनको प्रक्रिया सुरु हुनेछ । उनीविरुद्ध अविश्वासको प्रस्ताव ल्याउन संविधानको धारा १८८ (४) बाधक देखिन्छ ।

बाग्मतीमा १ सय १० जना सांसद छन्, जसमा ५६ जनाको समर्थन आवश्यक पर्छ । कांग्रेस केन्द्रीय सदस्य तथा सांसद राजेन्द्रकुमार केसीका अनुसार नयाँ नेता चयन भएपछि पुरानै गठबन्धनका दलहरूसँग सहमतिअनुसार सहकार्य हुनेछ । नेता जो बने पनि एमालेलगायत अन्य दलका सांसदको समर्थन लिएर प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीको दाबी गरिनेछ ।
कांग्रेसले नयाँ नेता बनाएपछि एमालेलगायत पुराना सत्ता साझेदारहरूसँग मिलेर पुनः सरकार गठनको दाबी गर्ने भनिए पनि मुख्यमन्त्री पद खाली नभएसम्म प्रक्रिया अगाडि बढ्ने देखिँदैन ।
कांग्रेसमा संसदीय दलको नेता फेर्ने यो रोग अब कोशीमा सर्ने संस्थापनइतरका एक नेताले राजधानीलाई बताए । उनले भने, बाग्मती प्रदेशसभामा भएको घटना हामी नजिकबाट नियालिरहेका छौं, हेरौं कसरी अगाडि बढ्छ, हामी पनि त्यहीअनुसार कोशी प्रदेशमा पनि संसदीय दलको नेता फेर्ने कसरत सुरु गछौं ।’ कोशीमा उद्धव थापा कांग्रेसको संसदीय दलका नेता हुन् । राजधानीबाट

