मकवानपुर । नेपाली कांग्रेस बागती प्रदेशकाे संसदीय दलको नेता चयनको प्रक्रिया सुरु भएको छ । कांग्रेस बागमती प्रदेश कार्य सम्पादन समितिको मंगलबारकाे बैठकले प्रदेशका सहमहामन्त्री हरिशरण श्रेष्ठको संयोजकत्वमा संसदीय दलकाे नेता चयनका लागि निर्वाचन समिति गठन गरेको छ ।
प्रदेश सभापति इन्द्रबहादुर बानियाँको अध्यक्षतामा हेटौंडामा बसेको कार्यसम्पादन समिति बैठकले श्रेष्ठकाे संयोजकत्वमा गठित समितिमा सहमहामन्त्रीद्वय ऋषिराम घिमिरे र जीवन डंगोल सदस्य रहने गरी चयन गरेको छ ।
मंगलबार गठित समितिले कांग्रेस संसदीय दलको नेता चयनका लागि बुधबार विहानबाट निर्वाचन प्रक्रिया अघि बढ्ने भएको छ । कांग्रेस बागमती प्रदेश कार्यसम्पादन समितिले गठन गरेको निर्वाचन समितिले बुधबार विहानदेखि निर्वाचन प्रक्रिया अघि बढाउने निर्णय गरेको हो । समितिले विहान ८ बजेबाट निर्वाचन प्रक्रिया शुरू गर्ने जनाएको छ । समितिको मंगलबारै बसेकाे बैठकले निर्वाचन कार्यतालिका निर्धारण गरेकाे हाे ।
यसअघि प्रदेशका मुख्यमन्त्री समेत रहेका बहादुर सिंह लामा तामाङले संसदीय दलको नेताको हैसियत गुमाएपछि नयाँ नेता चयनको लागि प्रक्रिया सुरु भएको हो । मुख्यमन्त्री समेत रहेका संसदीय दलका नेता लामाविरुद्ध परेको अविश्वासको प्रस्तावमा मंगलबार दिउँसो भएको मत विभाजन हुँदा नेता लामाकाे पक्षमा १५ मत परेकाे थियो । प्रदेश सभामा ३५ जना सदस्य रहेको कांग्रेसका २१ जना सांसदले अविश्वासको पक्षमा मतदान गरेका थिए ।
लामाले विश्वासकाे मत गुमाएपछि कांग्रेस बागमती प्रदेशमा संसदीय दलको नेताकाे पद रिक्त भएको हो । कार्यसमिति सभापति समेत रहेकाे बानियाँकाे अग्रसरतामा मुख्यमन्त्री समेत रहेका लामाविरुद्ध ९ असार शुक्रबार कांग्रेस संसदीय दलमा अविश्वास प्रस्ताव दर्ता भएको थियो । बानियाँ नै संसदीय दलको नेता बन्ने होडमा छन् ।
स्पष्ट २ धार देखिएको कांग्रेस बागमती प्रदेशमा दुवै पक्षले आ-आफ्ना उम्मेदवार उठाउने तयारीमा लागेका छन् । बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँ पक्षबाट उनी आफैंले दलको नेतामा उम्मेदवारी दिने तयारी गरिएकाे बताइएकाे छ । यसैगरी मुख्यमन्त्री लामा पक्ष पनि दलको निर्वाचनमा उम्मेदवारी दिने तयारीमा जुटेकाे छ । लामा पक्षबाट उनी अथवा समूहका अन्य काेही उम्मेदवार रहने बताइएकाे छ । यो सँगै संसदीय दलकाे नेतामा बाँनिया मात्रैकाे उम्मेदवारी दर्ता कायम नरहने निश्चित छ ।


