मकवानपुर । बागमती प्रदेशसभाकाे बैठक सुचारु भएकाे छ । दलहरूबिच बजेट माथिको छलफल प्रारम्भ गर्ने सहमति भएसँगै प्रदेशसभा बिहीबारबाट संचालन भएको हो । १ असारमा प्रदेश सरकारले प्रस्तुत गरेकाे बजेटमाथि विवाद हुँदा प्रदेश सभाकाे बैठक प्रभावित हुँदै आएकाे थियो ।
बजेटमाथि छलफल र पारित गर्न १२ असारकाे लागि प्रदेश सभाकाे बैठक आव्हान गरिएकाे थियाे । सभा नियमित संचालन भएकाे भए अहिलेसम्म प्रदेशकाे बजेट माथिकाे छलफल सकिएर पारित हुने चरणमा पुग्नु पर्ने थियाे । त्यही बजेट माथिकाे विवाद समाधान गर्न दलहरुबिच बिहीबार ८ बुँदे सहमति भएसँगै बिहीबार विहान ११ बजेकाे लागि बाेलाइएकाे बैठक साँझ सुरु भएकाे थियो ।
बिहीबार केही मिनेट संचालन भएर प्रदेशसभा बैठक शुक्रबारसम्मका लागि स्थगित भएको छ । बैठकमा प्रमुख प्रतिपक्ष दल नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलका नेता शालिकराम जम्कट्टेल र मुख्यमन्त्री बहादुर सिंह लामाले समय माग गरेर धारणा राखेका थिए ।नेता जम्कट्टेलले सरकारले बजेटमा अस्वाभाविक ढङ्गबाट हस्तक्षेप गर्दा व्यवस्था माथि नै समस्या भएको बताए । सरकारले उक्त विषयहरूमा स्पष्ट धारणा सहित बजेटका त्रुटिहरू सच्याउनु पर्ने उनले माग राखेका छन् ।
यसैगरी मुख्यमन्त्री लामाले सरकारले कमीकमजोरी सच्याएर अघि बढ्ने गरी प्रतिपक्ष दलहरूको सुझाव ग्रहण गरेको बताए । उनले संविधान र व्यवस्था प्रतिको सबै दलहरू एकजुट हुन जरुरी रहेको बताए ।
सभा सञ्चालनकाे लागि दलहरू बिच ८ बुँदे सहमति
बागमती प्रदेशसभा सञ्चालनको लागि दलहरूबिच ८ बुँदे सहमति भएको छ । बागमती सरकार र प्रदेशसभामा प्रतिनिधित्व गर्ने ६ राजनीतिक दलहरूबिच बजेट माथिको छलफल प्रारम्भकाे लागि सभा संचालनकाे लागि बिहीबार ८ बुँदे सहमति भएको हो ।
सभामुख भुवन कुमार पाठकको अगुवाइमा मुख्यमन्त्री बहादुर सिंह लामाको उपस्थितिमा बिहीबार बिहानदेखि बसेको सर्वदलीय बैठकले उक्त सहमति गरेको हो । दलहरू बिच आगामी आर्थिक वर्ष २०८२/८३ को विनियोजन विधेयकमाथि देखिएका कमजोरी, विवाद र असन्तोषलाई समाधान गर्ने सहमति भएको छ ।
बजेटमा भएका नीतिगत त्रुटिहरू सच्याउने, अपारदर्शी र अनधिकृत कार्यक्रमहरू हटाउने तथा आगामी बजेट निर्माण प्रक्रियामा सबै दललाई सहभागी गराउने दलहरूबिच सहमति भएको हो । प्रदेशको बजेट प्रक्रिया सुधार गर्नु, नीति निर्माणमा राजनीतिक दलहरूको सहभागिता सुनिश्चित गर्नु र स्रोतको न्यायोचित प्रयोग गराउनु पर्ने सहमति पत्रमा उल्लेख गरिएको छ ।
यसैबीच बागमती प्रदेशसभामा बजेट विनियोजन र सरकारको संरचनागत सुधारका लागि बिहीबार सङ्कल्प प्रस्ताव दर्ता गरिएको छ । बजेटसम्बन्धी विवाद रहेकाे बेला सत्तारुढ दलका सांसदहरूले बजेट प्रणाली, सरकारी संरचना र प्रशासनिक व्यवस्थापनमा सुधारको माग सहित सङ्कल्प प्रस्ताव प्रदेशसभा सचिवालयमा दर्ता गरेका हुन् ।
नेपाली कांग्रेस र नेकपा एमालेका २/२ जना सांसदले दर्ता गरेको उक्त प्रस्तावले सरकारको बजेट निर्माण प्रक्रिया, मन्त्रालयको सङ्ख्या, आयोग तथा बोर्डहरूको औचित्य, प्रशासनिक संरचना तथा योजना तर्जुमा प्रक्रिया सुधारका लागि सङ्कल्प प्रस्ताव दर्ता गराएका हुन् ।
बैठकमा आर्थिक मामिला तथा योजना मन्त्री कुन्दनराज काफ्लेले मध्यकालीन खर्च सम्बन्धी प्रस्ताव संसद्मा पेस गरे लगत्तै सभामुख भुवन कुमार पाठकले सभाकाे निर्धारित कार्यसूची हटाएर बैठक स्थगित गरेका थिए । बिहीबारको बैठकमा प्रदेश सरकारको आगामी आर्थिक वर्षको कर तथा राजस्व सम्बन्धी प्रस्ताव र आगामी आर्थिक वर्षको बजेट माथिको प्रस्ताव माथि छलफल गरियोस् भन्ने प्रस्ताव पेस हुने कार्यसूची रहेको थियो ।


