मकवानपुर । बाममती प्रदेश सरकारले चालक तथा सहचालकलाई सम्मान गरेको छ । प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले पहिलो पटक उत्कृष्ट चालक र सहचालक छनौट गरी सम्मान गरेकाे हाे ।
बुधवार मन्त्रालयले अनुशासित र मर्यादित सवारी सञ्चालन गर्ने ३ जना महिला चालकसहित १५ जना चालक र सहचालकलाई सम्मान गरेको हो । श्रम, रोजगार तथा यातायातमन्त्री प्रेमभक्त महर्जन, मन्त्रालयका सचिव वीरेन्द्रदेव भारती, नारायण यातायात व्यवसायी संघका अध्यक्ष हिरालाल श्रेष्ठ, महासचिव सरोज खनालले चालक, सहचालकलाई सम्मान प्रदान गरेका थिए ।
मन्त्रालयले सम्मानित गरेका महिला चालक नवीना खड्का, सरिता गौतम, जानुका गौतमसहित यादव थपलिया, कान्छा श्रेष्ठ, शरण सिंह लामा, विष्णुबहादुर रोक्का, कुशकुमार ढकाल, धनबहादुर तामाङ, कृष्णहरि पुडासैनी तथा सहचालक दिपेश भैया, रमेश चौधरी, राजेश थापा क्षेत्री, सञ्जय प्रजा र सुरेश रुम्बा रहेका छने् । उनीहरुलाई जनही १५ हजार नगद प्रदान गरिएको श्रम, रोजगार तथा यातायात महाशाखा प्रमुख सुनिता गजुरेलले जानकारी दिइन् ।
चालक तथा सहचालकाे छनौट नारायणी यातायात व्यवसायी संघले गरेको हाे । संघले गरेको मूल्यांकन, छनौट र सिफारिसलाई मन्त्रालयस्तरको मूल्यांकन समीक्षा समितिले समीक्षा गरी सम्मानित हुने चालक, सहचालकको नामावली टुंगो लगाएको थियो ।
कार्यक्रममा श्रम, रोजगार तथा यातायात मन्त्री प्रेमभक्त महर्जनले लामो रुटको चालककाे संख्या घटेकोमा चिन्ता व्यक्त गरे । लामो रुटको चालक उत्पादन घटिरहेकोले मन्त्रालयले प्रोत्साहन कार्यक्रम ल्याएको उनले बताए । चालकहरुको प्रोत्साहनकै लागि सम्मान कार्यक्रम राखिएको हाे, आगामी आर्थिक वर्ष २०८२/८३ का लागि लामो रुटको चालक उत्पादन गर्न बजेट बिनियोजन गरिएको उनले जानकारी दिए ।
लामो रुटको सवारी चालकले विदा भएपछि नयाँ चालकमा युवाहरुकाे सहभागिता हुन नसकेकोमा उनले चिन्ता व्यक्त गरे । उनले २ सय ४५ जना महिला चालकहरु उत्पादनमा पनि मन्त्रालयले तालिमलगायतका कार्य गरिरहेको बताए । ‘व्यवसायलाई मर्यादित पेशा बनाउनुपर्छ’ उनले भने ‘ट्राफिक नियमको पालना गरेर सवारी सञ्चालन गर्नु पर्छ ।’ यात्रुहरुको गुनासाको सम्बोधन हुने गरी सुरक्षित यात्राको प्रत्याभूति दिलाउनुपर्ने चालकहरुको दायित्व रहेको मन्त्री महर्जनले बताए ।
कार्यक्रममा विज्ञ सल्लाहकार तुलसी रिजाल, यातायात व्यवस्था कार्यालय चितवन भरतपुर प्रमुख विष्णुकुमार भट्टराई, नारायणी यातायात व्यवसायी संघ अध्यक्ष हिरालाल श्रेष्ठ, उपाध्यक्ष विष्णु विडारी, महासचिव सरोज खनाल, मूल्याङ्कन समिति सदस्य विश्वराज राईलगायतको उपस्थिति थियो ।

