मकवानपुर । मकवानपुरमा छोरी बलात्कार गर्नेलाई ४५ वर्ष कैद ताेकिएकाे छ । छाेरीलाई बलात्कार गरेको ठहर गर्दै जिल्ला अदालत मकवानपुरले बाबुलाई ४५ वर्ष कैद फैसला सुनाएकाे हाे भने ७ लाख रुपैयाँ जरिवानासमेत तोकेको छ ।
जिल्ला अदालत मकवानपुरका न्यायाधीश गीता श्रेष्ठको इजलासले बाबुले छोरीलाई बलात्कार गरेको ठहर गर्दै उक्त फैसला गरेको हो । जिल्ला अदालत मकवानपुरले हाडानाता पर्नेलाई बलात्कार गरेको अभियोगमा २५ वर्ष र बालिकालाई जबरजस्ती करणी गरेकोतर्फ २० वर्ष कैद गरी ४५ वर्ष कैद गर्ने फैसला गरेको जिल्ला अदालत मकवानपुरका सूचना अधिकारी केशवराज कौशिकले जानकारी दिए ।
२०८१ भदौ २८ गते बालिकालाई बाबुले घरमै बलात्कार गरेका थिए । बालिकाले आफू बाबुबाट बलात्कृत भएको फुपू नाता पर्नेलाई जानकारी गराएपछि उनीहरुले प्रहरीमा उजुरी दिएका थिए । उजुरीको आधारमा प्रहरीले पक्राउ गरेकाे उनलाई अदालतले पुर्पक्षका लागि भिमफेदी कारागार पठाएको थियो ।

