काठमाडौं । बागमती प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले सहकारी क्षेत्रको चुनौती र कमीकमजोरीलाई चिर्दै संविधान र कानुन प्रदत्त अधिकारको उपयोगसहित सहाकारीहरुले आमजनताको जीवनस्तर उकास्ने अभियानको सारथी बन्नुपर्ने बताउनु भएको छ ।
नेपालको संविधानले सरकारी, सहकारी र नीजि क्षेत्रलाई अर्थतन्त्रको तीन खम्बाको रुपमा उल्लेख गरेर सहकारी क्षेत्रको बिस्तार र प्रर्वद्धनमा जोड दिएको बताउनु हुँदै उहाँले सहकारीलाई जिम्मेवार बन्न समेत आग्रह गर्नुभयो ।
नवजीवन सहकारी संस्थालिमिटेडद्वारा आयोजित बिचार गोष्ठी कार्यक्रममा प्रदेश प्रमुख देवकोटाले शनिबार यस्तो बताउनु भएको हो । ‘सहकारी सहकार्य हो, यो समूह र त्यसभित्रका व्यक्तिहरुको उत्थानमा क्रियाशिल संस्था हो, सहकारी एकताको अनुपम उदाहरण हो’ उहाँले भन्नुभयो । समूहले व्यक्तिलाई उत्थान गर्नुपर्दछ र गर्न सकिन्छ भन्ने उदाहरण नवजीवन सहकारीले दिएको उहाँले बताउनुभयो ।
सडक दुर्घटनाको आलो घाउले रन्थनिएको एउटा बेसहारा बालकलाई देवकोटा सहितको समूहले उपचारमा गरेर नयाँ जीवन दिएपछि यो सहकारीको परिकल्पना गरिएको थियो । वि। स २०४८ सालको उक्त घटनाबाट पाठ सिक्दै २०५० मा सहकारी दर्ता गरिएको उहाँले स्मरण गर्नुभयो । ‘मानिसले सफलता देख्छन् र सफलतामा हातेमालो गर्छन् तर संघर्ष धेरैलाई थाहा हुदौन’ उहाँले भन्नुभयो । नवजीवन सहकारी संस्थाले सुदूर पश्चिम र लुम्बिनीका जनतामा आर्थिक क्रियाशीलता अभिवृद्धि गरि जीवनस्तर उकास्न सफल भएको उहाँले बताउनु भयो ।
सहकारीको मूल्य, मान्यता र सिद्धान्तलाई सर्वोपरि राखेर अघि बढेको हुनाले नै इतिहासका कुनै कालखण्डले नवजीवनलाई बिचलित नपारेको उहाँले बताउनु भयो । व्यक्तिगत र पारिवारिक ढङ्गले सञ्चालन गरिएका र केही बदमास नियतकाले नेतृत्व गरेका सहकारीहरूको कारण अहिले सहकारी अभियानमा हिलो छ्याप्न खोजेकोले सचेत हुनुपर्ने उहाँले बताउनुभयो ।
‘नकारात्मकताको बिउ रोपेर सकारात्मकता उम्रन सक्दैन, त्यसैले केही छिटपूट बदनियतलाई समग्र सहकारी जगतको बदनामीमा जोड्नु घोर अन्याय हुने उहाँले बताउनु भयाे । सुर्केथैली, बाकस अनि पटुकीमा पोको पारेका निम्न आय समूहका पैसा जनताको बैङ्क सहकारीले सहकार्यमा परिचालन गरेको बताउँदै उहाँले भन्नुभयाे ‘त्यत्तिकै निस्क्रिय रहेको पैसा अण्डा दिने कुखुरा जस्तै भएको छ, यो खुशीको कुरा हो’ सहकारीले बित्तिय साक्षरतामा अझै जोड दिएर आमसमुदायलाई सहकारीमा जोड्नु पर्ने उहाँले बताउनु भयाे ।
सहकारीले आमसर्वसाधारणहरुकाे भलाईको लागि सधै लागि परेकाे सहकारीका अध्यक्ष देवबहादुर बमले बताए । बमका अनुसार वि.सं. २०४८ साल माघमा एकले सबैलाई सबैले एकलाई भन्ने उद्धेश्यका साथ १४ जनाले स्थापना गरेको बचत कोषलाई विस्तार गर्दै जाने क्रममा ६४ जना सदस्यहरुबाट १ लाख ३० हजार पूँजी संकलन भएपछि दर्ता भई सुदूरपश्चिमको धनगढीमा वि.सं. २०५० मंसिर ३० गतेबाट यो सहकारी कारोबार सुरु गरेको थियो ।
यस संस्थामा हाल करिब ३३ हजार शेयर सदस्य रहेका छन् भने १० वटा शाखा/सेवाकेन्द्रहरु मार्फत सेवा प्रदान गरिरहेको छ । देशभरीका करिब ३० हजार सहकारी संस्था मध्ये ठूला १० भित्रैको उत्कृष्ट तथा संस्थाका सदस्यहरुको मन मस्तीस्कमा बस्न सफल रहेको अध्यक्ष बमले बताउनुभयो ।
धनगढी, टीकापुर, अत्तरिया र बाँसगढीमा आफ्नै भवन रहेको यस संस्थाले सुखड र जोशीपुरमा समेत जमिन खरिद गरी संस्थाको आफ्नै भवन निर्माण गर्ने लक्ष रहेको छ । लघुवित्त कार्यक्रम समेत सञ्चालन गरिरहेको यस संस्थाले सुपथ मूल्य पसल खोल्ने योजना समेत बनाएको छ । ४३७ करोड निक्षेप संकलन गरि ४०४ करोड कर्जा लगानी गरेको यस संस्थाले आ.ब. २०७९।०८० मा १३ करोड ४९ लाख मुनाफा हाँसिल गरको छ । त्यस्तै संस्थाको चुक्ता शेयर पुँजी २८.५ कारेड रहेको छ भने जगेडा तथा विभिन्न कोषहरुमा ४४ करोड रकम जम्मा रहेको बमले बताउनुभयो ।

