मकवानपुर । मकवानपुरकाे अग्रणी संस्था साहित्य संगम मकवानपुरले २०८१ सालमा प्रकाशित कृतिका स्रष्टालाई सम्मानित गरेकाे छ । संगमले शनिबार हेटौंडामा एक कार्यक्रमका बिच मकवानपुर १२ जना स्रष्टालाई सम्मान गरेको हो ।
२०८१ सालमा मकवानपुर जिल्लाका साहित्यकारले ४ वटा मुक्तक संग्रह, २ वटा गजल संग्रह, अनुसंस्करण संग्रह, कथा संग्रह, कविता संग्रह, नियात्रा संग्रह, गीत संग्रह र संस्मरण संग्रह एक/एक वटा प्रकाशन गरेकाेमा लेखन कार्यलाई प्रोत्साहन गर्ने उद्देश्यले साहित्य संगमले स्रष्टा सम्मान कार्यक्रम गरेको हो ।
शनिबारकाे ३५४ औं नियमित साहित्य सन्ध्याको अवसरमा साहित्य संगमले ‘अनुभूतिका आँखाहरु’ अनुसंस्मरणका स्रष्टा ऋषिराम उपाध्याय पोखरेल, ‘घामका फूलहरु’ गजल संग्रहका स्रष्टा तुलसी घिमिरे गजल संग्रह ‘तृप्ति’ का स्रष्टा राम कार्की, ‘संयात्राको संयोग’ नियात्रा संग्रहका स्रष्टा रमेशमोहन अधिकारीलाई सम्मान गरिएकाे संगम सचिव मनोज पाेखरेलले बताए ।
यसैगरी ‘बहिष्कृत आवाज’ कविता संग्रहका स्रष्टा यश लामा, ‘आउँछ यादहरु’ गीत संग्रहका स्रष्टा महेश सी आरोही, ‘उज्यालोका बाछिटा’ मुक्तक संग्रहका स्रष्टा डीबी बर्तौला, ‘सम्झूँ कि बिर्सुँ’ संस्मरण संग्रहका स्रष्टा निर्मोही व्यास, ‘गल्छेडाका धुनहरु’ मुक्तक संग्रहका स्रष्ट्रा राजबाबु पहाडी, ‘अन्तरध्वनि’ मुक्तक संग्रहका स्रष्टा किशन पौडेल, ‘बन्द ढोकाको चित्कार’ मुक्तक संग्रहका स्रष्टा दिनेश शर्मा र ‘कठै’ कथा संग्रहका स्रष्टा श्यामप्रसाद श्रेष्ठलाई सम्मानित गरिएको पोखरेलले जानकारी दिए ।
स्रष्टा श्रेष्ठले ‘कठै’ कथा संग्रह ६ वटा साहित्य संगम मकवानपुरद्वारा संचालित पुष्पलाल पुस्तकालयलाई हस्तान्तरण गरेका छन् । साहित्य संगम मकवानपुरका अध्यक्ष डीबी बर्तौलाको अध्यक्षता, साहित्यकार तुलसी घिमिरेको प्रमुख आतिथ्यमा तथा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ४ का वडाध्यक्ष नविन सिग्देलकाे विशेष आतिथ्यतामा भएकाे नियमित साहित्य सन्ध्या एवम् सम्मान कार्यक्रममा रामप्रसाद आचार्य, राजकुमार चौधरी, सानुभाइ बिश्वकर्मा, सुवास सजल, जनार्दन खनाल, अनिल कोइराला, पुरुषोत्तम आचार्य, मनोज मधुर, देवराज तिवारी, उमेश तिमल्सिना, शान्ति प्रियवन्दना लगायतले रचना वाचन गरेका थिए ।
यसैबीच विधान संसोधनकाे लागि शनिबार नै संगमकाे विशेष साधारण सभा भएकाे छ । अधिवेशनले संगमकाे विधानमा भएका केही प्रावधानलाई संसोधन तथा केही व्यवस्था थप समेतको निर्णय गरेको छ ।
विशेष अधिवेशनले विधानमा रहेको २ वर्षे कार्यकाललाई बढाएर ३ वर्ष बनाउने, प्रगतिवादी शब्दलाई प्रगतिशील बनाउने, आजिवन, मानार्थ र सस्थागत सदस्यताको व्यवस्था गर्ने, सदस्य भएको व्यक्तीमात्रै पदाधिकारीमा चयन हुन पाउने, अध्यक्ष हुन पधाधिकारी भएका ब्यक्तिबाटै चयन हुने व्यवस्था गर्ने निर्णय पारित गरेको छ ।
यसैगरी जुनसुकै उमेर समुहका समेत सदस्य हुन पाउने तर मताधिकार भने १८ वर्ष उमेर पूरा भए पछि मात्रै पाउने व्यवस्था र संगम कार्यालय हेटौंडा ४ स्थित आफ्नै भवनमा रहने गरि संसोधनको निर्णय भएको अध्यक्ष डीबी बर्तौलाले जानकारी दिए ।

