मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति ईन्द्रबहादुर बानियाँले खेलकुद देशकाे सान भएकाेले पर्याप्त बजेट छुट्याउन पहल गर्ने बताएका छन् । कांग्रेस थाहा नगरपालिका ९ नम्बर वडाको आयोजना भएकाे शालिकराम मानन्धर र तेजबहादुर केसी स्मृति प्रथम जिल्लास्तरीय रनिङशिल्ड भलिबल प्रतियोगिताको समापनमा बोल्दै उनले यस्ताे बताएका हुन् ।
नयाँ वर्ष तथा लोकतन्त्र दिवसको अवसरमा आयोजित प्रतियोगिताकाे समापनमा नेता बानियाँले भलिबल, फुटबललगायतका खेल क्षेत्रको विकासका लागि बागमती प्रदेश सरकारमार्फत प्रयाप्त बजेट विनियोजन गर्न पहल गरिने उनले प्रतिवद्धता जनाए । ‘खेलकुद क्षेत्रको समग्र विकासका लागि स्थानीयदेखि संघीय सरकारले ध्यान दिनुपर्छ’ उनले भने ‘खेलाडीको क्षमता अभिवृद्धिका साथै उनीहरुको मनोबल बढाउँदै स्थानीयदेखि अन्तर्राष्ट्रिय प्रतिस्पर्धामा भाग लिन सक्ने बनाउनु पर्छ ।’
नेपाली कांग्रेसले स्थापनाकालदेखि नै मानवतासँग जोडिनुका साथै सामाजिक कामहरु गरिरहेका बताउँदै खेलकुद क्षेत्रमार्फत शारीरिक तथा मानसिक तन्दुरुस्तीका कामहरुमा पनि ध्यान दिइरहेको बानियाँले बताए । गणतन्त्रमा समावेशी विकासका लागि खेल क्षेत्रको विकास पनि उत्तिकै महत्वपूर्ण हुने उनको भनाइ थियो ।
प्रतियोगिताको उपाधि हेटौंडाको छहारी युवा समाजले प्राप्त गरेको छ । फाइनल खेलमा आयोजक कांग्रेस थाहा ९ लाई पराजित गर्दै समाजले उपाधि हात पारेको हो । छहारी युवा समाजले ७५ हजारसहित शिल्ड र प्रमाणपत्र प्राप्त गरेको थियो भने उपविजेता आयोजक टिमले ४५ हजारका साथै तेस्रो हुने सोल्टु युवा क्लवले ३० हजार र सान्त्वना हुने डाँडाबास युवा क्लवले ५ हजार रुपैयाँ प्राप्त गरेको थियो ।
वैशाख ८ गतेदेखि सञ्चालन भएको प्रतियोगितामा जिल्लाभरका ९ वटा टिमको सहभागिता रहेको थियो । नेपाली कांग्रेस थाहा ९ का उपसभापति बुद्धबहादुर बलामीको अध्यक्षतामा कार्यक्रम भएको हाे ।

