मकवानपुर । मकवानपुरकाे मनहरी गाउँपालिकामा माेटरसाइकलले ठक्कर दिंदा १ जनाकाे मृत्यु भएकाे छ । बिहीबार राती मनहरी -७ लच्का स्थित पुर्व पश्चिम सडक खण्डमा मनहरीबाट सुनाचुरी तर्फ जादै गरेको बा ६२ प. १११४ नम्बरकाे माेटरसाइकलले पैदलयात्री महिलालाई ठक्कर दिंदा मृत्यु भएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।
नामथर वतन नखुलेको अन्दाजी ६०/६१ वर्षीय महिलाले बाटो पार गर्ने क्रममा उक्त माेटरसाइकलले ठक्कर दिँदा घाइते भएकाेमा उपचारकाे लागि हेटौंडा अस्पताल ल्याइएकाे थियाे । उक्त महिलाकाे बिहीबार राती नै डाक्टरले मृत घाेषणा गरेका थिए । महिलालाई ठक्कर दिए पछि फरार माेटरसाइकललाई इलाका प्रहरी कार्यालय मनहरीका प्रहरी निरीक्षक विशाल सापकोटासहितको टाेलीले खोजतलाश गर्ने क्रममा बिहीबार राती माेटरसाइकल मनहरी – ६ प्रतापपुरबाट नियन्त्रणमा लिएकाे हाे ।
माेटरसाइकल चालक मनहरी-६ प्रतापुर बस्ने ३२ वर्षीय मन्शु गुरुङलाई निजकै घरबाट उक्त माेटरसाइकलसहित नियन्त्रणमा लिइएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । गुरुङ र माेटरसाइकललाई इलाका प्रहरी कार्यालय मनहरी ल्याई थप अनुसन्धान भईरहेको छ । मृतक महिलाको हालसम्म सनाखत हुन नसकेको प्रहरीले जनाएकाे छ ।

