मकवानपुर । मकवानपुर प्रहरीले हेटौंडाबाट ५ हजार ७५० पत्ता लागूऔषध ट्रामाडोलसहित २ जनालाई पक्राउ गरेको छ । बिहीबार बिहान प्रहरी चौकी रातोमाटेबाट खटिएको प्रहरी टोलीले मधेश प्रदेश ०२–००१ च १४३८ नम्बरको योद्धा पिकअप गाडीलाई जाँच गर्दा उक्त परिमाणमा लागूऔषधसहित २ जनालाई पक्राउ गरेकाे हाे ।
मकवानपुर प्रहरी प्रवक्ता श्यामु अर्यालयका अनुसार पक्राउ पर्नेमा बारा पचरौता नगरपालिका–७, बेनौलीका २५ वर्षीय तीर्थलाल पासवान र सोही स्थानका वर्ष २३ को सुनिल पटेल रहेका छन् । बारा जिल्लाको सिम्रौनगढबाट हेटौंडातर्फ आउँदै गरेको उक्त योद्धा पिकअप गाडीलाई सुरक्षाजाँच गर्ने क्रममा ५ हजार ७५० क्याप्सुल ट्रामाडोल बरामद गरिएकाे मकवानपुर प्रहरी प्रमुख विश्वराज खड्काले जानकारी दिए ।
चालक पासवान र सहचालक पटेल माथि शंका लागेर तलासी गर्दा गाडीको अगाडिको ईन्जिन भएको भागमा लुकाई ल्याएको अवस्थामा ट्रामाडोल ५ हजार ७५० थान (५७ हजार ५०० क्याप्सुल) बरामद भएको हाे । उक्त ट्रामाडोलको बजार मूल्य प्रतिपत्ता ७२ रुपैयाँका दरले ४ लाख १४ रुपैयाँ हुने प्रहरीले जनाएकाे छ ।
लागुऔषध ट्रामाडाल हेटौंडामै बिक्री वितरणका लागि ल्याइएको प्रहरीको प्रारम्भिक अनुसन्धानमा खुल्न आएको छ । पक्राउ गरिएका २ जनालाई मकवानपुर जिल्ला अदालतबाट ५ दिनको म्याद थप गरेर अनुसन्धान कार्य भइरहेको मकवानपुर प्रहरीले जानकारी दिएकाे छ ।

