मकवानपुर । मकवानपुरकाे हेटौंडालाई काठमाडौं जोड्ने कान्ति लोकपथ सडकमा सवारी आवागमन बन्द हुने भएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरले शुक्रबार सूचना जारी गर्दै उक्त सडक खण्ड १५ दिन बन्द हुने जनाएकाे छ ।
वैशाख १८ गतेदेखि जेठ १ गतेसम्म १५ दिन उक्त सडक खण्डमा बिहान १० बजेदेखि बेलुकी ४ बजेसम्म दैनिक ६ घण्टा यातायात आवागमन बन्द रहने प्रशासनद्वारा जारी सूचनामा उल्लेख छ। मकवानपुरको बकैया गाउँपालिकास्थित ठिङ्गन-बगुवा सडक खण्डमा सडक विस्तार गर्ने कामकाे लागि सवारी आवागमन बन्द हुने भएकाे हाे ।
ठिङ्गन-बगुवा सडकखण्ड अन्तर्गत गङ्गटे नजिकैको भर्याङडाँडामा सडक विस्तारको लागि चट्टान कटानको कार्य गरिने भएकाले कान्ति लोकपथ सडक खण्डमा सवारी आवागमन बन्द रहने प्रशासन कार्यालयले प्रकाशन गरेकाे सूचनामा उल्लेख छ।
सडक बन्द हुने अवधिमा काठमाडौँ-हेटौडा वा हेटौँडा-काठमाडौँ यात्रा गर्नुपर्ने सवारी साधनले वैकल्पिक मार्गको प्रयोग गर्न जिल्ला प्रशासन कार्यालय मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्रप्रसाद कँडेलले आग्रह गरेका छन्।

