मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्बर १ चौकीटोलमा देवरले भाउजुको हत्या गरेका छन् ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार २२ वर्षीय राहुल भन्ने रमेश दासले जेठी भाउजु ३५ वर्षीय गुडिया दासको खुकुरी प्रहार गरी हत्या गरेका हुन् । ३ सन्तानकी आमा गुडियालाई रमेशले खुकुरी प्रहार गरी घरमै हत्या गरेको प्रहरी जानकारी दिएको छ ।।
रमेशले माइलो दाइ २८ वर्षीय रुपेश दासलाई पनि खुकुरी प्रहार गरी घाइते बनाएका छन् । घाइते रुपेशको हेटौंडास्थित मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ । तीन दाजुभाइ मध्ये जेठो रोशन दास रोजगारीको सिलसिलामा ५ महिनाअघि कतार गएको बताइएको छ ।
प्रहरीका अनुसार रमेशले खुकुरी प्रहार गरी भाउजुको हत्या गरेको, दाइमाथि पनि आक्रमण गरेको स्वीकारेका छन् । प्रहरीका अनुसार रुपेशमाथि भाइले गरेको सांघातिक आक्रमण र जेठी भाउजुको हत्या गर्नुको कारण खुलेको छैन ।प्रहरीले घटनाबारे अनुसन्धान गरिरहेको छ ।

