मकवानपुर । मकवानपुरको हेटौंडामा नेपाल विद्युत् प्राधिकरणका कुलमान घिसिङलाई कार्यकारी निर्देशकबाट हटाइएकाे विरोधमा प्रदर्शन गरिएकाे छ । नेकपा माओवादी केन्द्रको युवा दस्ता वाईसीएल मकवानपुरको नेतृत्वमा विरोध प्रदर्शन भएको हो ।
मंगलबार साँझ वाईसीएलका युवा तथा कुलमान समर्थकहरूले टुकी बत्तीसहित जुलुस निकालेर सरकारको विरोध जनाए । विरोधसँगै उनीहरूले सरकारविरोधी नाराबाजीसहित नगर परिक्रमा गरेका थिए । विरोध प्रदर्शन गर्ने क्रममा प्रदर्शनकारीहरूले प्रधानमन्त्री केपी शर्मा ओलीको पुत्ला जलाएका थिए ।
पुत्ला जलाउँदा रोक्न खोज्दा सुरक्षाकर्मी र प्रदर्शनकारीबिच भएकाे घम्साघम्सीमा हेटौंडाकाे ख्वपःगल्ली स्थित तरकारी बजार क्षेत्र केहीबेर तनावग्रस्त बन्यो ।
घिसिङलाई सोमबारकाे मन्त्रिपरिषद् बैठकले कार्यकारी निर्देशकबाट हटाउने निर्णय गरेकाे थियाे । कुलमानकाे समर्थनमा विभिन्न स्थानमा प्रदर्शन भएका छन् भने सामाजिक संजालमा समेत धेरैले सरकार विरुद्ध लेखिरहेका छन् ।

