मकवानपुर । हेटौंडा उपमहानगरपालिका ४ नम्बर वडाध्यक्ष नवीन सिग्देलले शैक्षिक गुणस्तर बृद्विकाे लागि स्ववियुको भूमिका महत्वपूर्ण हुनु पर्ने बताएका छन् ।
हेटौंडा उपमहानगर क्षेत्र भित्रका क्याम्पसका नवनिर्वाचित स्ववियु पदाधिकारी तथा सदस्यलाई वडाले गरेको सम्मान कार्यक्रम उनले यस्तो बताएका हुन् । ‘विद्यार्थी माझ स्ववियुलाई लाेकप्रिय र विश्वासिलाे रूपमा स्थापित गर्नुपर्छ’ उनले भने । मकवानपुर बहुमुखी क्याम्पसकाे पूर्व सभापति समेत रहेका सिग्देलले भने ‘स्ववियुले रचनात्मक क्रियाकलापद्वारा विद्यार्थीकाे चाैतर्फी विकास र शैक्षिकस्तर माथि उठाउन ध्यान दिनु पर्छ ।’
स्ववियुकाे शुरूवात निरंकुश पंचायती व्यवस्था विरूद्व विद्यार्थीले आवाज उठाउने क्रममा भएकाे स्मरण गर्दै उनले विद्यार्थीहरू सधै लाेकतन्त्र र परिवर्तनकाे पक्षमा रहेकाे र रहनुपर्ने बताए । निरंकुशता र लाेकतन्त्रबीचकाे संघर्षमा सधै विद्यार्थी आन्दाेलन लाेकतन्त्रकाे पक्षमा रहेकाे बताउँदै उनले कसैले लाेकतन्त्र माथी धावा बाेल्छ भने विद्यार्थीले उचित जवाफ दिनु पर्ने बताए ।
मकवानपुर बहुमुखी क्याम्पस स्ववियुका नवनिर्वाचित अध्यक्ष प्रसिद्व रेग्मीले विद्यार्थी बीचमा रचनात्मक कार्य गर्दै हकहितको पक्षमा लाग्ने बताए । उनले गणतन्त्रकाे विकल्प गणतन्त्र मात्रै भएकाे समेत बताए । त्यस्तै, हेटौंडा क्याम्पसका स्ववियुका नवनिर्वाचित अध्यक्ष अभि मैनालीले विद्यार्थीकाे अभिमतलाई आत्मसाथ गर्दै स्ववियुले जहिले विद्यार्थीकाे असल प्रतिनिधिकाे रूपमा काम गर्ने बताए ।
४ नम्बर वडा कार्यालयले हेटाैंडा नगरभित्रका सामुदायिक क्याम्पसहरू मकवानपुर बहुमुखी क्याम्पस, हेटौंडा क्याम्पस, निर्मल बहुमुखी क्याम्पस, बंशगाेपाल बहुमुखी क्याम्पसका स्ववियुका पदाधिकारी तथा सदस्यलाई बधाई तथा सम्मान गरेको हो ।

