मकवानपुर । मकवानपुरको राक्सिराङ गाउँपालिकाको सबै वडामा विद्युतको पहुँचमा पुगेको छ । नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले सोमबार राक्सिराङ ९ खैराङबाट राक्सिराङलाई पूर्ण विद्युतीकरण वडा घोषणा गरे ।
घिसिङले खैराङकी फूलमाया चेपाङको घरमा जडान गरिएकाे विद्युत मिटर ‘अन’ गरेर पूर्ण विद्युतीकरण घोषणा गरे । राक्सिराङको ९ नम्बर वडा अन्तरगतका खैराङ, कार्रालाङ लगायतका गाउँमा पहिलो पटक विद्युत पुगेको हो । घोषणासँगै चेपाङ बाहुल्य रहेकाे मकवानपुरकाे विकट गाउँपालिका राक्सिराङका सबै वडामा विद्युतको पहुँच पुगेकाे हाे । ‘चेपाङ बिजुली कार्यक्रम’ अन्तर्गत गाउँपालिकाको पहलमा प्राधिकरणले राक्सिराङका सबै वडामा विद्युत सेवा पुर्याएको हो ।
गाउँपालिकालाई पूर्ण विद्युतीकरण घोषणा गर्दै कार्यकारी निर्देशक घिसिङले देशमा पूर्ण रुपमा लोडसेडिङ अन्त्य भएको बताए । उनले आफ्नो मात्रै नभई सरकार तथा सरोकारवाला समेतकाे पहलबाट लोडसेडिङ अन्त्य भएको बताए । उनले आफू विद्युत प्राधिकरणमा आएपछि विद्युत नपुगेका गाउँहरुमा पनि विद्युत पुर्याएको र लोडसेडिङको पूर्ण अन्त्य गरेको बताए । ‘बजार क्षेत्रमा २४ सै घण्टा विद्युत दिएर देशमा लोडसेडिङ थिएन भन्नु गलत थियो’ उनले भने ।
‘म विद्युत प्राकिरणको कार्यकारी नियुक्त भएर जिम्मेवारी सम्हालेपछि अहिले गाउँ/गाउँमा बिजुली पुगेको छ । त्यतिमात्रै होइन, लोडसेडिङको पूर्ण अन्त्य भएको छ ।’ उनले यसको लागि आफूले निष्ठापूर्वक काम गरेको बताए । आफूले सही बाटोमा लागेर काम गरेको र त्यसमा सरकारले सहयोग गरेकै कारण विद्युतीय क्षेत्रमा उपलब्धिमुलक काम गर्न सकिएको उनले बताए ।
‘नेपालमा खपत भएर बचेको विद्युत छिमेकी मुलुक भारतमा निर्यात गरिरहेका छौँ,’ उनले भने, ‘यति मात्रै होइन पछिल्लो समय बंगलादेशले पनि नेपालमा उत्पादन भएको बिजुली बालिरहेको छ । यो नै नेपालका लागि ठुलो उपलिब्ध हो भन्न सकिन्छ ।’ विकटमा नागरिकहरुका लागि प्राधिकरणले निशूल्क मिटरबक्स समेत वितरण गर्दै आएको निर्देशक घिसिङले बताए ।
मकवानपुरकै दुर्गम खैराङमा आर्थिक वर्ष २०७६/०७७ देखि नै चेपाङलाई बिजुली कार्यक्रम अघि बढाइएको गाउँपालिका अध्यक्ष राजकुमार मल्लले जानकारी दिए । गाउँपालिकाले आफ्नै स्रोतमा संचालन गर्दै आएको विद्युतीकरणको कामलाई प्राधिकरणले चेपाङलाई बिजुली कार्यक्रम मार्फत् सम्पन्न गरेको उनले बताए । गाउँपालिकाले एक करोड रुपैयाँमा सुरु गरेकाे विद्युतीकरण कार्यक्रमलाई प्रदेश सरकारले एक करोड रुपैयाँ थप गरेको मल्ल बताउँछन् । उनका अनुसरा प्राधिकरण समेतकाे सहयोगमा ६ करोड रुपैयाँबाट वडाहरुमा विद्युत् पोल गाड्ने र तार तान्ने काम गरिएकाे थियो ।
२०७८ को जनगणनाअनुसार २५ हजार ९ सय ९६ जनसंख्या रहेको उक्त पालिकामा ५ हजार ४४ घरधुरी छन् । कार्यक्रममा दुर्गम पालिकाको घरघरमा विद्युतीकरण गर्न सहयोग पुर्याउने घिसिङलाई गाउँपालिकाले सम्मान समेत गरेको छ । साथै उक्त अभियानमा सहयोग गर्ने व्यक्तिलाई समेत सम्मान गरिएको थियो । राक्सिराङमा अझै १५ सय भन्दा धेरै घरहरुमा विजुली पुग्न बाँकी रहेको बताइएकाे छ ।

