मकवानपुर । आज फागु पुर्णिमा । फागुन शुक्ल पुर्णिमाका दिन पहाडी समुदायले रंगसँग सद्भाव साट्दै फागु पर्व मनाउँने गरिन्छ । वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावनाको सन्देश लिएर आउने फागु पर्व आज हिमाली एवम् पहाडी जिल्लामा हर्षोल्लासका साथ एकआपसमा रङ र लोला खेली मनाइँदैछ ।
फागु, होली, फागु पूर्णे अनेकन नामले यो पर्व चिनिन्छ । आनन्द अनि उत्साहको यो बसन्त ऋतुको चाडमा आफ्ना लागि केही समय निकालेर आफन्तजनसँग भेटघाट गरी शुभकामना आदान प्रदान गर्दै मनाउने गरिन्छ । यो चाडले वसन्त ऋतुको आगमनको शङ्खघोष गर्दछ । होली रङ्गहरूको चाड हो । होलीको दिन मानिसहरूले एक अर्कामाथि विभिन्न प्रकारका रङ्गहरू हालेर एक अर्कालाई रङ्गिन बनाउँछन् ।
होली पर्व मनाउनुको पौराणिक कारण र इतिहास छ । होली खेल्ने दिन भन्दा एक दिन पहिला राती होलीका दहन गरिन्छ । राती होलीका दहन गरिसके पछि बिहान पानीमा रङ्ग घोलेर एक अर्कामाथि फाल्ने चलन छ । सानासाना बालबालिकादेखि वृद्धवृद्धासम्म सबैले होलीमा रमाइलो गर्छन् । युवा-युवतीहरू गीत गाउँदै-नाच्दै होली खेल्छन् । भनिन्छ कि होलीको दिन पुरानो कटुता समाप्त गरेर, दुस्मनी बिर्सेर मान्छे एक-अर्कासित एक अदित्तिय सम्बन्ध स्थापित गर्दछन् ।
उतिबेलाका अयोध्या राज्य होस् या अवध राज्य, मिथिला राज्य होस् या २२ से या २४ से राज्यहरु नै किन नहुन्, बसन्त ऋतुको यो महान पर्व होलीका पृष्ठभूमिहरु अनि मनाइएका चलनहरु प्रशस्तै इतिहासमा वर्णित छन् । त्रेतायुगमा भगवान विष्णुका परम भक्त प्रह्लादसँग होलीलाई जोडेर हेरिन्छ । दत्यराज हिरण्यकशिपुका पुत्र प्रह्लादलाई उनको आफ्नै फुपु होलिकाले आगोमा भष्म पार्न लाग्दा उनी आफै आगोमा भष्म भएको दिनका रुपमा ‘होली–पर्व’ मनाउँदै आएकाे मानिन्छ । दैत्यराज्य हिरण्यकशिपु आफ्नै पुत्र प्रह्लाद भगवान भक्त भएकामा क्रोधी बनेका थिए । होलीकाबारे नेपाल अनि भारतमा विभिन्न कालखण्डमा धेरै कालजयी कृतिहरु अनि गीतहरु रचना गरिएका छन् ।
भगवान बिष्णुको नरसिंह अवतारको वर्णन अनि उत्पत्ति पनि होली अनि भगवानभक्त प्रह्लादका घटना क्रमसँग सम्बन्धित छ । नारद पुराण र भविष्य पुराणमा होलीको महत्व अनि चलनको चर्चा गरिएको छ । भगवान श्रीकृष्णलाई दूध खुवाएर मार्न आएकी राक्षसनी पुतनाको पनि आजकै दिन बालक कृष्णले वध गरेको उल्लेख गरिएको छ । यसरी पुतनाको बध भएपछि गोपालबासीहरुले जयजयकार गर्दै आजको दिनको रङ्गीन उत्सव मनाएको कथा पनि धार्मिक ग्रन्थहरुमा पढ्न पाइन्छ ।
होलीका बेला शौभाग्यको सूचक रातो रङ्गको प्रयोग गरिन्छ । फागुमा प्रयाेग गरिने नीलो रङ्गले मानवता र धैर्यतालाई दर्शाउछ भने पहेलो रङ्ग भगवान श्रीकृष्णको प्रिय रङ्ग मानिन्छ । शुक्ल पक्षको ठूलो चन्द्रको छत्रछाँयामा होली–गीत गाउँदै रातभरि कार्यक्रम आयोजना गर्ने चलन पनि छ । वास्तवमा भन्ने हो भने होलीले मानिस अनि रङ्गहरुबीचको सम्बन्ध अनि रङ्गले पार्ने उत्साहजनक प्रभाव पार्छ भन्ने मान्यता राखिन्छ । के बालक ? के बृद्ध ? अनि के वयस्क ? होली सबैको पर्व हो । धार्मिक मान्यता एकातिर होला, केवल उत्साह अनि सद्भावका रुपमा हेरेरै त होला नेपालीजन चाहे जुनसुकै धर्म या समुदायका हुन्, होलीमा एउटै आँगन र तालमा झुम्मिन्छन् ।
बाल–बालिकाले पिच्कारी अनि स–साना बेलुनका साथमा मज्जा लिन्छन् । फेरि पिच्कारी बजारमा किन्न पाउने मात्र नभई तराईतिर बाँस काट्दै बनाइएका पिच्कारीहरु अथवा प्रयोग गरिसकेका पुराना प्लास्टिकका बोत्तलबाट बनाइएका पिच्कारीहरु पनि हुन्छन् । वयस्कका निम्ति होली रङ्गहरु अनि भातृत्व र साहसको पर्व हो । शुरु–शुरुमा जो कोही पनि यसपाला म रंग खेल्दिन भनी बस्छन् । तर सुस्तरी रङ्गीन माहौल अनि साथी–भाइको रङ्ग भरिएका हात अनि पानीका फोहोराबाट बच्न हम्मे हम्मे पर्छ । पुराना यादहरु सँगाल्दै अनि अबिर र केसरीको चुटुक्क टिकाका साथमा बृद्ध पुस्ताले दिएका आशिषको पनि होलीमा विशेष महत्व रहन्छ ।
तराईतिर त झन् पोखरी नै रङ्गीन पुग्छन्, रङ्गहरुले । खेल्न नमान्ने अनि आनाकानी गर्नेहरुलाई चोपलेर पोखरीमै फालिदिने चलन पनि छ । पहाडमा भन्दा एक दिनपछि मात्र तराईमा होली मनाउने चलन छ । यो पर्वमा खाने कुराहरुमा आज मालपुवाको विशेष महत्व रहन्छ भने तराईतिर भने तरुवा, भरुवाको विशेष महत्व हुन्छ । सरसुको दानालाई सिलौटोमा पिसेर अनि मरमसला मिसाएर भान्टाभित्र राखी तारिएको भरुवाको आज विशेष महत्व हुन्छ । अर्कोतर्फ भाँङको घोटा अर्थात् गाँउतिर पाइने भाँङको दानाको धुलो बनाई दूध अनि चिनीको मिश्रणमा हालेर बनाइएको घोटा खाँदै अनि खुवाँउदै जोगीरा सररर…. को तालमा नाँच्नुको विशेष महत्व हुन्छ ।
पहिले–पहिले होलीका दिनमा लोला अनि फोहोर पानीहरु मिसाएर पदयात्री अनि काममा निस्केका मान्छेहरुलाई ताकेर हानिने चलन धेरै थियो । तर बिस्तारै यसरी होली मनाउने चलन घट्दै गएको छ । कोरोना संक्रमण जोखिमका कारणले पछिल्लो वर्ष हाेलीकाे उमङ्ग थिएन् । फागु अर्थात होलीको उल्लासमा यो वर्ष पहाड र तराईका जिल्लाहरुमा कमी आउने छैन ।
यस पर्वलाई फाल्गुण पूर्णिमाको दिनमा मनाउने भएकाले यसलाई फगुआ पनि भनिन्छ । होली पर्व घरपरिवार-साथीभाइ आपसमा रङमा रङ्गिएर उल्लासपूर्वक मनाउने फागुन पुर्णिमाको अवसरमा पहाडदेखि तराई र गाउँदेखि सहरसम्मका केटाकेटी, युवायुवती तथा प्रौढहरूका हूल तथा जत्थाहरू हातमा रङ र रङ्गीन घोल पदार्थ लिएर गाउँदै, बजाउँदै, रमाइलो र होहल्ला गर्दै आपसी रिसईबीलाई बिर्सेर उत्साह र उमङ्गका साथ मनाइने रङ्गीन पर्वको रूपमा लिइन्छ । फागुन शुक्ल अष्टमीको दिन काठमाडौँको वसन्तपुर दरबार अगाडि चीर-विशेषरूपले सजाएको लिङ्गो गाडेपछि होली सुरू भएको मानिने फागुपर्व पूणिर्माको राति उक्त चीर -लिङ्गोलाई ढालेर जलाएपछि समाप्त भएको ठानिन्छ ।
आजै काठमाडौंको वसन्तपुरमा गाडिएको चीरलाई विधिपूर्वक ढाली बाजागाजाका साथ टुँडिखेलमा लगेर जलाइन्छ । आजै राति टुँडिखेलमा ‘गुरुमापा’ नामक राक्षसलाई इटुम्बहालदेखि कहीँ पनि नबिसाइ ल्याइएको दश पाथी चामलको भात र मासु खुवाएर सैनिक अस्पतालभित्र रहेको ‘जधु’ नामक धारामा चुठाउने चलन छ ।
पहाडी तथा हिमाली जिल्लमा र उपत्यकामा आज अर्थात् फागुन पूर्णिमाकै दिन सरकारले सार्वजनिक बिदा दिएकाे छ भने भाेली तराई मधेसका क्षेत्रमा हाेली मनाउने भएकाेले सार्वजनिक बिदा दिएकाे छ ।
शान्तिपूर्ण रुपमा मनाउन प्रशासनको आग्रह
जिल्ला प्रशासन कार्यालय मकवानपुरले आज परेकाे रंगहरुको पर्व होली शान्तिपूर्ण र अनुशासित भएर मनाउन आग्रह गरेको छ । कार्यालयले एक सार्वजनिक सूचना जारी गर्दै होली पर्व सामाजिक सद्भाव र भाइचारा कायम राख्दै मनाउन आग्रह गरेकोे हो ।
सहायक प्रमुख जिल्ला अधिकारी राजेन्द्र प्रसाद कडेंलद्वारा हस्ताक्षरीत सूचनामा होली पर्वलाई सभ्य, शिष्ट, स्वस्थकर र मर्यादित तवरले मनाउन सबैलाई अनुरोध गरिएको छ । सूचनामा आत्मीयरूपमा नजिक भएका व्यक्ति वा आफन्तसँग मात्र होली खेल्न र होली पर्वको नाममा उच्छृङ्खल क्रियाकलाप नगर्न चेतावनी दिइएको छ ।
सूचनामा होली पर्वको अवसरमा विभिन्न खर्चिला र भड्किला कार्यक्रमका कारण सार्वजनिक स्थलहरूमा अशान्ति र विवाद उत्पन्न हुने गरेको भन्दै पर्वको नाममा कसैले सार्वजनिक स्थानमा होहल्ला, झगडा वा अनावश्यक गतिविधि गर्ने, पानीको बेलुन वा लोला हान्ने, जबरजस्ति रंग दल्ने, मादक पदार्थ सेवन गरी सवारी साधन चलाउने जस्ता गतिविधिहरू नगर्न भनिएको छ ।
आफ्नो अधिकारको प्रयोग गर्दा अरुको अधिकार र स्वतन्त्रता संकुचित नगर्ने तवरले होली पर्वलाई मर्यादित र व्यवस्थित रूपमा आग्रह गर्दै कुनै व्यक्तिले प्रशासनको सूचनालाई अटेर गरी अमर्यादित, उच्छृङ्खल, अवाञ्छित र गैरकानूनी क्रियाकलाप गरेमा उक्त कार्यलाई कानूनी कारबाहीको दायरामा ल्याइने चेतावनी पनि दिइएको छ ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरले समेत फागु पर्वमा कुनै पनि व्यक्तिको इच्छा विपरीत फोहर पानी तथा लोला, मोविल केमिकल, प्रयोग नगर्न आग्रह गरेकाे छ । यस्तै मादक पदार्थ तथा लागू पदार्थ सेवन नगरी सभ्य र सुरक्षित तरिकाले होली मनाउन समेत प्रहरी प्रशासनले आग्रह गरेकाे छ । मर्यादित र शिष्ट रुपमा आफन्त र चिनजानका साथीसँग मात्र होली खेल्न जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डीएसपी श्यामु अर्यालले अनुराेध गरेका छन् । होली पर्वलाई मध्यनजर गर्दै प्रहरीले सुरक्षा व्यवस्था मलाइएकाे बताइएकाे छ ।
केही वर्षदेखि रङको पर्व फागु अर्थात होली सभ्य बन्दै गएको छ । केही वर्षअघिसम्म फागु सुरु नहुदै १ हप्ता अघी देखि नै लोला हान्ने प्रवृत्ति थियो । तर केही समयदेखि फागु पर्वलाई अनुशासित भएर मनाउने गरिएको छ । सडकमा काम विशेषले हिँड्नेलाई इच्छा विपरीत रङ र लोला हान्ने क्रम बन्द हुँदै गएको छ ।

