मकवानपुर । हेटौडामा जारी दसौं राष्ट्रिय हेटौंडा भेट्रान्स कप ८ ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधीका लागि किंङकम भेट्रान्स क्लब (काठमाडौं) र फ्रिडम फाइटर भेट्रान्स क्लब (काठमाडौं) भिड्ने भएका छन् । आइतबार हेटौडा ४ स्थित हुप्राचौर खेलमैदानमा भएकाे सेमिफाइनल खेलमा जित निकाल्दै दुवै टोलीले फाइनलमा भेट पक्का गरे ।
प्रतियोगिता अन्तरगत आइतबारकाे पहिलाे सेमिफाइनल खेलमा फ्रिडम फाइटर भेट्रान्सले बानेश्वर फ्रेण्डसिप भेट्रान्सलाई १-० गोल अन्तरले पाखा लगाउँदै फाइनल यात्रा तय गरेकाे हाे । यसैगरी किङकम काठमाडौंले आयोजक हेटौडा भेट्रान्सलाई ५-३ गाेल अन्तरले हराउँदै फाइनलमा स्थान बनाएकाे हाे ।
पहिलो सेमिफाइनमा फ्रिडमको तर्फबाट खेलको छैटौं मिनेटमा कृष्ण मालाकारले गरेको एक मात्र गोल निर्णायक बन्यो । म्यान अफ द म्याच मालाकार घोषित भए । यसैगरी दोस्राे सेमिफाइनलमा किङकमकाे तर्फबाट खेलको ७ औं मिनेटमा सरोज थापाले एक गोल गर्दै सुरुवाती अग्रता बनाए । किशोर नेपालीले खेलकाे १२औं र नीरज सिंह बस्नेतले २८औं मिनेटमा गोल गर्दै अग्रता तेब्बर बनाए ।
यसैगरी हेटौडा भेट्रान्सको तर्फबाट खेलको ३१ औं मिनेटमा प्रकाश महर्जनले जवाफी गोल फर्काए । दीपक लामाले खेलकाे ३७ औं र ४१ औं मिनेटमा दुई गोल गर्दै खेल बराबरीमा ल्याए । खेलकाे ४२ औं र ४४ औ मिनेटमा किङकमका किशोर नेपालीले गोल गर्दै टिमलाई विजयी बनाए । खेलकाे लयमा फर्किएकाे आयोजक हेटौंडा भेट्रान्स अन्तिम क्षणमा सम्हालिन नसक्दा हार व्योहोर्नु पर्यो । दोस्राे खेलकाे म्यान अफ द म्याच किङकमका किशोर नेपाली घोषित भए ।
शनिवार भएको क्वाटर फाइनलमा बानेश्वर भेट्रान्सले एबीसी भेट्रान्स पोखरालाई ट्राईब्रेकरमा पराजित गर्दै सेमिफाइनल प्रवेश गरेको थियो । किङकम भेट्रान्स काठमाडौंले बगर भाईखलक भेट्रान्स पोखरालाई पराजित गदै सेमिफाइनल प्रवेश गरेको हाे । यस्तै नागस्वती भेट्रान्सलाई पराजित गर्दै फ्रिडम फाइटर भेट्रान्स सेमिफाइनल प्रवेश गरेको थियो भने बौद्ध भेट्रान्सलाई पराजित गर्दै हेटौडा भेट्रान्स सेमिफाइनल प्रवेश गरेको थियो ।
प्रतियोगिताको फाइनल खेल सोमबार दिउँसो २ बजे फ्रिडम फाइटर र किङकम बिच हुने प्रतियोगीता संयोजक मणिराज गौतमले जानकारी दिए ।प्रतियोगिताकाे विजेता टिमले एक लाख ५० हजार ५ सय ५५ र उपविजेता हुने समूहले ७५ हजार ५ सय ५५ प्राप्त गर्ने संयोजक गौतमले बताए । यस्तै विधागत तर्फ सर्वश्रेष्ठ कोच, उत्कृष्ट फरवार्ड, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्स, उत्कृष्ट मिडफिल्डरलाई जनही ५ हजार तथा म्यान अफ द सिरिज हुने खेलाडीलाई १० हजार पुरस्कार प्रदान गरिने छ ।
प्रतियाेगिताकाे मुख्य प्रायोजक हेटौंडा उपमहानगरपालिका रहेको छ भने सह प्रायोजक हेटौडा स्कुल अफ म्यानेजमेन्ट रहेकाे छ । २२ फागुनबाट संचालनमा भएकाे प्रतियोगितामा प्रतियाेगितामा वीरगञ्ज युथ भेट्रान्स क्लब (पर्सा), सिमरा भेट्रान्स क्लब (बारा), चितवन भेट्रान्स क्लब (चितवन), वगरभाई खलक भेट्रान्स क्लब (पोखरा कास्की), एबीसी भेट्रान्स क्लब (पोखरा), बुटवल भेट्रान्स क्लब (रुपन्देही), थापागाउँ भेट्रान्स क्लब (काठमाडौं), किंङकम भेट्रान्स क्लब (काठमाडौं), बौद्ध भेट्रान्स क्लब (काठमाडौं), फ्रिडम फाइटर भेट्रान्स क्लब (काठमाडौं), हेटौडा भेट्रान्स क्लब (आयोजक),नागस्वती भेट्रान्स क्लब (हेटौंडा), बानेश्वर फ्रेण्डसीप भेट्रान्स क्लब (काठमाडौं) र एन जे. जे.भी.सी. (सिमरा बारा) ले सहभागिता जनाएकाे आयोजकले जनाएकाे छ ।
नवौं संस्करणकाे उपाधी काठमाडौंकाे बानेश्वर फ्रेण्डसीप भेट्रान्स क्लबले हात पारेकाे थियाे । भेट्रान्स प्रतियोगिताकाे पहिलाे र दोस्राे संस्करणकाे उपाधी चितवन भेट्रान्स क्लब चितवनले हात पारेकाे थियाे । सानो गौचरणनाईट किंग क्लव काठमाडौंले तेस्रो संस्करण, बगरभाई खलक भेट्रान्स क्लब पोखराले चौथो र छैटौं संस्करण, एवीसी भेट्रान्स क्लब पोखराले पाँचौ, साताैं र आठौं संस्करणकाे उपाधी जितेकाे थियाे ।

