मकवानपुर । मकवानपुरको हेटौंडामा भएको दसौँ राष्ट्रिय हेटौंडा भेट्रान्स कप एट ए साइड रनिङ शिल्ड फुटबल प्रतियोगिताको उपाधि किङकम भेट्रान्स काठमाडौले हात पारेको छ ।
हेटौडा भेट्रान्स क्लबको आयोजनामा भएको प्रतियोगिता अन्तरगत सोमबार भएको फाइनल खेलमा फ्रिडम फाइटर भेट्रान्स काठमाडौलाई ट्राईब्रेकरमा ३-२ गोल अन्तरले पराजित गर्दै किङकमले उपाधी जितेको हो । उपाधी जितसंगै उस्ले १ लाख ५० हजार ५ सय ५५ रुपैयाँ हात पार्यो । उपविजेतामा चित्त बुझाएको फ्रिडम फाइटरले ७५ हजार ५ सय ५५ रुपैयाँ प्राप्त गर्यो ।
खेलको १४ औ मिनेटमा फ्रिडम फाईटर भेट्रान्सको तर्फबाट कृष्ण मालाकारले एक गोल गर्दै समूहलाई अग्रता दिलाए । यस्तै २७ औ मिनेटमा किङकम भेट्रान्सका खेलाडी जगातमान लामाले गोल गर्दै खेल बराबरीमा बनाए । खेलको निर्धारित समयमा दुवै समूहबाट १/१ गोल भएपछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो ।
प्रतियोगिता अन्तर्गत किङकम भेट्रान्सका तर्फबाट सर्वश्रेष्ठ कोच राजकुमार पन्त, उत्कृष्ट फरवाड सरोज थापा, उत्कृष्ट गोलकिपर अमित प्रधान, उत्कृष्ट डिफेन्स सञ्जय राना मगर घोषित भएका थिए भने फ्रिडम फाईटरको तर्फबाट उत्कृष्ट मिडफिल्डर उदय बहादुर गुरुङ घोषित हुदै जनही पाँच हजार नगद र ट्रफी प्राप्त गरे । यस्तै प्रतियोगिताको सर्वउत्कृष्ठ खेलाडी फ्रिडम फाईटरको तर्फबाट तेन्जिङ लामा घोषित हुदै १० हजार रुपैयाँ सँगै ट्रफी प्राप्त गरे ।
हेटौडा उपमहानगरपालिकाका नगर प्रमुख मिना कुमारी लामाले विजयी खेलाडीलाई पुरस्कार प्रदान गरिन।समापन समारोहमा शिक्षाविद् पूरण बहादुर जोशी, एन्फा केन्द्रीय सदस्य टिका लामा, हेटौडा उपमहानगरपालिकाका वडा नम्बर ४ अध्यक्ष नवीन सिग्देल, वडा नम्बर ५ अध्यक्ष सुशील घिमिरे लगायतका को उपस्थिति रहेको थियो ।
२२ फागुनबाट सुरु प्रतियोगिताको मुख्य प्रायोजक हेटौंडा उपमहानगरपालिका तथा सह प्रायोजक हेटौंडा स्कुल अफ म्यानेजमेन्ट रहेको थियो ।

