मकवानपुर । मातृभूमि साहित्य समाज मकवानपुरले ९ जना स्रष्टा तथा व्यक्तित्वलाई हेटौंडामा सम्मानित गरेकाे छ । समाजकाे २६ औं वार्षीक साधारण सभाकाे अवसरमा शनिबार हेटौंडामा एकै मञ्चमा ७ विधामा ९ जनालाई सम्मान गरेकाे हाे ।
समाजले नित्यानगोविन्द स्मृति मातृभूमि सङ्गीत पुरस्कार,२०८० द्वारा गीतकार सुभाषचन्द्र ढुङ्गेल सम्मानित गरेकाे छ । २० हजार रुपैयाँ राशीको उक्त पुरस्कार समाजसेवी मुक्ति गोविन्द वैद्यले पिता नित्य गोविन्द वैद्य स्मृतिमा स्थापना गरेका हुन् । यस्तै श्याम श्रेष्ठ स्मृति मातृभूमि पुरस्कार,२०८० अनुवादक/ साहित्यकार डा. विष्णु भण्डारी (आसाम, भारत ) लाई प्रदान गरिने भएको छ । १५ हजार रुपैयाँ राशीकाे उक्क पुरस्कार समाजसेवी/शिक्षासेवी आशिष श्रेष्ठले पिता श्याम श्रेष्ठको स्मृतिमा स्थापना गरेको हुन् ।
यसैगरी शेखर शर्मा रिजाल स्मृति मातृभूमि शैक्षिक पुरस्कार,२०८० बाट असल पाख्रिन, बेबी मर्जिना खातुन, परीक्षा खतिवडा सम्मानित भएका छन् । समाजसेवी अर्चना शर्मा रिजालले शेखर शर्मा रिजालको स्मृतिमा स्थापना गरेका हुन् । पाख्रिनलाई १५ हजार रुपैंया तथा खातुन र खतिवडालाई जनही ७ हजार ५०० हजार रुपैयाँ प्रदान गरिएकाे हाे । पुरस्कार प्रत्येक वर्ष मकवानपुर जिल्लामा सामुदायिक विद्यालयतर्फ प्रवेशिका परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने छात्र र छात्रालाई प्रदान गरिन्छ ।
यस्तै साहित्यकार नरेन्द्र राज पौडेल (काठमाडौं) ईश्वरी स्मृति मातृभूमि सम्मान, २०८० बाट सम्मानित भएका छन् । १५ हजार रुपैयाँ राशी रहेकाे उक्त सम्मान मातृभूमि साहित्य समाज मकवानपुरका अध्यक्ष कृष्णप्रसाद दाहालले आफ्ना पिताको स्मृतिमा स्थापना गरेकाे हुन् । यो सम्मान विविध क्षेत्रमा उत्कृष्ट योगदान दिने व्यक्तित्वलाई २०७० सालदेखि प्रदान गरिदै आएकाे समाजका सचिव किशन पौडेलले जानकारी दिए ।
१० हजार रुपैयाँ राशिकाे हातेमालो-मातृभूमि युवा सृजनशील सम्मान, २०८० बाट मकवानपुरे साहित्यकार दीपक गौतम सम्मानित भएका छन् । समाजले २०६५ सालमा स्थापना गरेको यो सम्मान २०७२ सालदेखि मकवानपुरकै ‘हातेमालो बचत तथा ऋण सहकारी संस्था’ ले प्रायोजन गर्दै आएको बताइएकाे छ ।
यसैगरी मकवानपुरका गृष्मा गहतराज मङ्गलादेवी स्मृति मातृभूमि बाल पुरस्कार, २०८० बाट सम्मानित हुने भएकी छिन् । शिक्षासेवी देव प्रसाद श्रेष्ठले आमा मङ्गलादेवी श्रेष्ठको स्मृतिमा २०७७ सालमा स्थापना गरेकाे उक्त पुरस्कारकाे राशि ७ हजार ५०० रहेकाे छ । प्रतिभाशाली बालबालिकाहरूलाई यो पुरस्कार प्रदान गरिदै आइएकाे सचिव पौडेलले जानकारी दिए ।
शारदा उप्रेती स्मृति मातृभूमि सम्मान, २०८० बाट कलाकार ज्ञान रत्न लामा सम्मानित भएका छन् । अधिवक्त चूडाराज उप्रेतीले स्थापना गरेकाे उक्त पुरस्कारकाे राशि १० हजार रुपैया रहेकाे छ । यो पुरस्कार २०८० सालमा स्थापना गरिएकाे तथा पहिलाे पटक प्रदान गरिएकाे समाजले जनाएकाे छ ।
मातृभूमि साहित्य समाज, मकवानपुर भाषा, साहित्य, कला, सङ्गीत र संस्कृतिको संरक्षण/संवर्द्धन गर्ने उद्देश्यले २०५६ सालमा स्थापित संस्था हो। समाजले विभिन्न क्षेत्रमा योजदान पुर्याउने व्यक्तित्वहरुलाई हरेक वर्ष सम्मान गर्दै आएकाे अध्यक्ष कृष्ण प्रसाद दाहाले जानकारी दिए ।
उक्त अवसरमा लेखन विधामा सृजनात्मक सौन्दर्य परिचर्चा कार्यक्रम आयोजना गरिएको थियाे । संस्थाका पूर्व अध्यक्ष प्रा.राजबाबु पहाडीले परिचर्चा गरेका थिए । संस्थाका संरक्षक हयग्रीव आचार्य संस्थाको गतिविधि माथि चर्चा गर्दै अभिमुखीकरण समेत गरे । सचिव किशन पौडेलले संस्थाको वार्षिक प्रगति प्रतिवेदन एवम् आर्थिक वर्षको गतिविधिहरू प्रस्तुत गरेकाे थिए । पुरस्कृत व्यक्तित्वको परिचय समाजका उपाध्यक्ष हेमन्त ढुङ्गेलले गरेका थिए भने कार्यक्रममा सहजिकरण सदस्य सानु खनालले गरेका थिए ।
समाजका अध्यक्ष कृष्ण प्रसाद दाहालको अध्यक्षता तथा बागमती प्रदेश आर्थिक मामला तथा योजना मन्त्री कुन्दनराज काफ्लेकाे प्रमुख आतिथ्ययतामा भएकाे कार्यक्रममा हेटौंडा उपमहानगरपालिका १० नम्बर वडाध्यक्ष फुर्वा दाेर्जे तामाङकाे विशिष्ट आतिथ्यता रहेकाे थियाे ।
समाजले गत असोजमा ३ विधाका पुरस्कार प्रदान गरिसकेकाे छ । महालक्ष्मी साहित्य पुरस्कार, २०८० महाकाव्यकार मुना अर्याललाई प्रदान गरिएकाे छ । ५१ हजार रुपैंया राशिकाे उक्त पुरस्कार मातृभूमि साहित्य समाज मकवानपुर र महालक्ष्मी विकास बैंकले संयुक्त रुपमा २०५९ सालबाट प्रदान गर्दै आएकाे छ । त्यस्तै, समाजसेवी ईश्वर मैनालीले बुबाको स्मृतिमा स्थापित १० हजार राशिकाे केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०८० पत्रकार माधवप्रसाद न्यौपानेलाई प्रदान गरेकाे थियाे । मकवानपुर श्री सम्मानबाट मकवानपुरका अग्रज शिक्षाप्रेमी बद्रीनाथ शर्मालाई सम्मानित गरिएकाे थियाे ।

