झुरझुरे,बागमती । मकवानपुरकाे बागमती गाउँपालिकामा जारी साताैं संस्करणकाे बामगती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनल समिकरण पुरा भएकाे छ । बिहीबारकाे क्वाटरफाइनल खेलबाट साविक विजेता मछिन्द्र क्लबले जित हासिल गरेसँगै प्रतियाेगिताकाे सेमिफाइनल समिकरण पुरा भएकाे हाे ।
बागमती–४ झुरझुरेस्थित शहीद स्मृति रंगशालामा भएको अन्तिम क्वार्टरफाइनल खेलमा सर्लाही जिल्लाको बागमती युवा क्लबलाई १–० गोलअन्तरले हराउँदै ‘ए’ डिभिजन क्लब मछिन्द्रले अन्तिम चारमा स्थान पक्का गरेकाे हाे । मछिन्द्रको जीतमा खेलको ४३ औं मिनेटमा रेजिन सुब्बाले पेनाल्टी मार्फत गोल गरे । बागमतीका खेलाडी हेमन्त भुजेलले खेलको ४२ औं मिनेटमा गोललाइनमा हातले बल रोकेपछि मछिन्द्रले पेनाल्टी प्राप्त गरेकाे थियाे ।
गोललाइनमा हातले बल रोक्ने भुजेललाई रेफ्रीले राताे कार्ड दिएका थिए । त्यसपछि बामती १० खेलाडीमा सिमित हुँदा खेलमा फर्कन सकेन । खेलकाे म्यान अफ द म्याच मछिन्द्रकै शिशिर लेखी घोषित हुँदै १० हजार रुपैयाँ हात पारे । प्रतियोगितामा आयोजकलाई हराउँदै बागमती युवा क्लब क्वार्टरफाइनलमा प्रवेश गरेको थियो भने मछिन्द्रले वाई पाएर सिधै क्वाटरफाइनल खेलेको हो । मछिन्द्र छैटाैं संस्करणकाे बागमती गोल्डकपकाे विजेता टोली हो । गत संस्करणमा एपीएफलाई हराउँदै मछिन्द्रले उपाधी हात पारेको थियो ।
यस अघि सोमबार भएकाे पहिलाे क्वाटरफाइनलबाट त्रिभुवन आर्मी क्लबलाई हराउँदै चर्च व्वाइज युनाइटेड सेमिफाइनल प्रवेश गरेको छ । विभागीय टोली आर्मीलाई टाइब्रेकरमा ५–४ गोल अन्तरले हराउँदै चर्च व्वाइजले सेमिफाइनल यात्रा तय गरेकाे हाे । मंगलबार भएको दोस्राे क्वाटर फाइनल खेलबाट थ्री स्टार क्लब काठमाडौं समिफाइनल प्रवेश गरेकाे छ । उसले हिमालयन शेर्पालाई ४–० गोल अन्तरले हराउँदै सेमिफाइनलमा स्थान बनाएकाे हाे ।
यसैगरी बुधबारकाे तेस्राे क्वार्टरफाइनल खेलमा जित निकाल्दै एपीएफ बागमती गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो । संकटा क्लबलाई १–० गोलअन्तरले हराउँदै एपीएफ सेमिफाइनलमा प्रवेश गरेको हो ।
१२ फागुनसम्म संचालन हुने प्रतियोगिताको उपाधि विजेताले १० लाख र उपविजेताले ५ लाख प्राप्त गर्नेछ । प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार रुपैयाँसहित ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । प्रतियाेगितामा ७ विभागीय टोली तथा ३ वटा माेफसलकाे टाेलीले सहभागिता जनाएका थिए ।

