मकवानपुर । मकवानपुरकाे हेटौडा उपमहानगरपालिका वडा नम्बर १ बालमैत्री वडा घाेषणा हुने भएकाे छ । “बालबालिकामा लगानी; सुनिश्चित भविष्यको थालनी” भन्ने मुल नाराका साथ ११ माघ २०८१ मा हेटौडा १ नम्बर वडालाई बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिने भएकाे हाे ।
वडालाई उक्त दिन निकृष्ट बालश्रममुक्त, बाल विवाहमुक्त तथा बालमैत्री स्थानीय शासनयुक्त वडा घाेषणा गरिने मंगलबार पत्रकार भेटघाट गरी जनाकारी दिइएकाे हाे । पत्रकार भेटघाटमा वडाध्यक्ष सविन न्यौपानेले बालमैत्री वडा घाेषणाकाे लागि ताेकिएका ५१ वटा सूचककाे मापन अंक पुरा भएकाेले घाेषणा गर्न लागिएकाे जानकारी दिए ।
‘बालमैत्री स्थानीय शासन घोषणा गर्न आवश्यक ५१ वटा सूचकहरुमा अभ्यास गरी ५१ वटा सूचकहरुमध्ये ४७ वटा सूचकमा १०० प्रतिशत, १ वटा सूचकमा ९६ प्रतिशत, १ वटा सूचकमा ९०, १ वटामा ८५ प्रतिशत र १ वटामा ८२ प्रतिशतसम्म नतिजा हासिल गर्दै वडालाई बालमैत्री घोषणा गर्न लागिएकाे हाे’ वडाध्यक्ष न्यौपानेले भने । पूर्ण खोप, पूर्व साक्षर, खुल्ला दिसामुक्त वडा घोषणा भई सकेको वडालाई नेपाल सरकारको मापदण्डको आधारमा तयार भएको सूचक पुरा भएकाेले बालमैत्री घाेषणा गर्न लागिएकाे हाे ।
‘आजका बालबालिका भविष्यका नेतृत्वकर्ता हुन्। आज हामीले बालबलिकालाई आवश्यक शिक्षा, स्वास्थ्य, हेरचाह, वृद्धि विकास र सहभागिताको अवसर दिन सकेमा मात्र भविषयमा राज्यले एउटा असल, सभ्य र सक्षम नागरिक पाउन सक्छ’ उनले भने ‘बालबालिकाको वृद्धि तथा व्यक्तित्व विकासको लागि दिईने वातावरण, अवसर र व्यवहार नै बालमैत्री अभियानको मुलसार हो भने बालबालिकाहरुको मौलिक तथा आधारभूत अधिकारलाई सुनिश्चित गर्न ल्याईएको शासकीय अवधारणा नै बालमैत्री स्थानीय शासन हो।’
बागमती प्रदेशको राजधानी समेत रहेको यस हेटौंडा उपमहानगरपालिकाको १९ वडा मध्ये १ नम्बर वडा सावि हेटौडा उपमहानगरपालिका वडा नं. १ र साविक बसामाडी गाविसको वडा नं. ८ र ९ मिलेर बनेको छ। १४.८६ वर्ग कि.मी. क्षेत्रफल रहेको यस वडाको पूर्वी सिमानामा त्रिभुवन राजपथ, पश्चिममा वडा नम्बर १९, उत्तरतर्फ भीमफेदी गाउँपालिका र दक्षिणमा महेन्द्र राजमार्ग अवस्थित छ ।
घरधुरी तथ्याङ्क संकलन सर्वेक्षण २०७९ अनुसार यस वडामा कुल जनसंख्या ६७९० रहेको छ जसमा महिला ३३५७ र पुरुषको संख्या ३४३३ रहेको । १८ वर्ष मुनिका बालबालिकाको कुल जनसंख्या २०१४ रहेको छ जसमा १०४५ बालक र ९६९ बालिका रहेका छन्। यस वडामा ५ सामुदायिक र १ संस्थागत गरि बाल विकास केन्द्र सहितका जम्मा ६ वटा विद्यालयहरु सञ्चालनमा छन्। यसैगरी १८ वटा बालसमूहहरु र १ वटा बाल सञ्जाल रहेको छ । जसमा ३६३ जना बालवालिकाहरु आवद्ध छन् भने विभिन्न संरचनागत समितिहरुमा समेत गरी जम्मा ४०४ जना बालबालिकाहरुको प्रत्यक्ष सहभागिता रहेको बताइएकाे छ ।
वडामा बालमैत्री स्थानीय शासन वडा समिति, वडा बालअधिकार समिति, बालसमूहरु, बालसमूह सञ्जाल, टोल विकास संस्थाहरु, युवा क्लब, आमा समूह साथै विभिन्न सामुदायिक संस्थाहरु क्रियाशील छन् । बालमैत्री स्थानीय शासन अभियान स्थानीय शासन राष्ट्रिय रणनीति, २०६८ को कार्यान्वयन सँगै विभील स्थानीय तहहरुले शुरुवात गरी कार्यान्वयनको प्रक्रिया अगाडी बढाईएकोमा हाल बालमैत्री स्थानीय शासन कार्यान्वयन निर्देशिका, २०७८ र बालमैत्री स्थानीय घोषणा कार्यविधि, २०७९ कार्यान्वयनमा रहेको छ।
नेपाल सरकाले २०८७ सम्ममा सबै स्थानीय तहहरुलाई बालमैत्री स्थानीय तहको रुपमा घोषणा गर्ने नीतिलाई पछ्याउदै हेटौडा उपमहानगरपालिकाले पनि बालमैत्री स्थानीय शासनयुक्त उपमहानगरपालिकाको रुपमा घोषणा गर्न ५ भाद्र २०७९ मा सरोकारवालाहरुको उपस्थितिमा प्रतिबद्दता गरी २४ भाद्रमा नगर कार्यपालिकाबाट निर्णय गरेकाे थियाे । तत्पश्चात १ नम्बर वडाले ११ मंसिर २०७९ सरोकारहरुको उपस्थितिमा प्रतिवद्धतामा हस्ताक्षर गरी अभियानलाई आत्मासात गर्दै कार्यान्वयनको लागि प्रत्येक विद्यालय, टोल, समुदायहरुमा विभिन्न सचेतनामूलक कार्यक्रमहरु संचालन गर्दै आएको वडाध्यक्ष न्यौपानेले जानकारी दिए । ।
नेपाल सरकारले निर्धारण गरेका बाल अधिकारका महत्वपूर्ण पक्षहरु बाल बचाऊ, बाल संरक्षण, वाल विकास, र बाल सहभागिता संस्थागत विकास समेत गरि ५ वटा क्षेत्रका सूचक प्राप्तीको सन्दर्भमा सरोकारवाला निकायहरुसँग बसी अन्तरक्रिया, अनुगमन तथा समीक्षा गरिएकोमा हाल बालमैत्री स्थानीय शासन कार्यान्वयन तथा दिगोपना कायम गर्नको लागि अन्तिम सूचक मापनको प्रतिवेदन, स्थिति पत्र, वडाको पञ्चवर्षिय रणनीतिक योजना समेत तयार भईसकेको समेत उनले बताए ।
‘जिल्लास्तरीय अनुगमन समितिबाट वडाकाे स्थिती अनुगमन समेत भएको तथा अभियानलाई सफल पार्न यस वडाका सम्पूर्ण वडावासीहरु लगायत विद्यालय, टोल विकास संस्था, नागरिक समाज, सबै सरकारी तथा गैरसरकारी संघसंस्थाहरुले आ-आफ्नो स्थानबाट सक्दो साथ सहयोग दिनु भएको कारणले नै हामी घोषणाको अन्तिम चरणमा पुग्न सफल भएको हौ’ उनले भने । वडाकाे विकट क्षेत्रमा रहेकाे नकौली आधारभुत स्वास्थ्य केन्द्र, बाँझोडाँडामा नकौलीमा वडा घाेषणा गरिने समेत जानकारी गराइएकाे छ ।

