मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिकाका २ वटा सामुदायिक विद्यालय एकीकरण(मर्ज) गरिने भएको छ ।
मकवानपुर कै पुराना २ सामुदायिक विद्यालय एकीकरण प्रक्रियामा लैजान कार्यदल समेत गठन गरिएको छ । हेटौंडा ४ मा रहेको भुटनदेवी माध्यमिक विद्यालय र आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयलाई एकीकरण सम्बन्धी प्रक्रियाको लागि उपमहानगरको कार्यपालिका बैठकले ४ नम्बर वडाका वडा अध्यक्ष नवीन सिग्देलको संयोजकत्वमा ७ सदस्यीय कार्यदल गठन गरेको छ ।
भुटनदेवी मावि व्यवस्थापन समितिका अध्यक्षसमेत रहेका वडाध्यक्ष सिग्देल संयोजक रहेको कार्यदलको सहसंयोजकमा आधुनिक राष्ट्रिय माविका विद्यालय व्यवस्थापन समिति अध्यक्ष मोहमद समिम छन् । सदस्य सचिवमा हेटौंडा उपमहानगरपालिका शिक्षा शाखाका हरिष्चन्द्र सापकोटा तथा सदस्यहरुमा भुटनदेवी माविका प्रधानाध्यापक माधव दाहाल, आधुनिक राष्ट्रिय माविका प्रधानाध्यापक रामसागर गुरागाईँ, कार्यपालिका सदस्य जुना दाहाल र इश्वरी रसाइली रहेका छन् ।
कार्यदलको स्थायी आमन्त्रीत सदस्यमा उपमहानगरको सामाजिक विकास महाशाखा प्रमुख भीम प्रसाद तिमल्सिना, विज्ञ सल्लाहकार कृष्ण प्रसाद धिताल र कानूनी शाखाका लक्ष्मण मैनाली रहेका छन् ।
कार्यदलले माघ मसान्त सम्ममा दुबै विद्यालयको भौतिक विवरण, शिक्षक, विद्यार्थी, कर्मचारी लगायत अबस्थाको अध्ययन गरि तयार गरेको प्रारभ्भिक प्रतिवेदन बुझाउने कार्यदलका संयोजक सिग्देलले बताए । आगामी बैशाखबाट मेगा विद्यालय सञ्चालन गर्ने गरि कार्य अघि बढेको सिग्देलले जानकारी दिए ।
लामो समयदेखि शैक्षिक क्षेत्रमा उल्लेख्य योगदान पुर्याउँदै आएको दुवै विद्यालयलाई मर्ज गरी मेगा विद्यालयका रूपमा अगाडि बढाउन मर्ज गर्न लागिएको हो । हेटौंडालाई शैक्षिक हबका रूपमा विकास गर्ने उद्देश्यले दुवै विद्यालय व्यवस्थापन समितिको निर्णय, वडा कार्यालयको सिफारिससहित वडाध्यक्ष, दुवै विद्यालय व्यवस्थापन समितिका अध्यक्ष र प्रधानाध्यापकसहितको टोलीले केही समय अघि हेटौंडा उपमहानगरपालिकाकी नगर प्रमुख मीनाकुमारी लामालाई आवश्यक प्रक्रिया अगाडि बढाउन आग्रह गरेका थिए ।
‘हेटौंडा पछिल्लो समय शैक्षिक हबको रुपमा विकास भइरहेको छ । भौतिक पूर्वाधारको निर्माण गरी १० हजार विद्यार्थीलाई सुविधासम्पन्न रूपमा अध्ययन गराउने उद्देश्यले मर्जर प्रक्रिया अगाडि बढाइएको हो’ कार्यदल संयोजक सिग्देलले भने । उनका अनुसार दुवै विद्यालय मर्ज पश्चात भुटनदेवी माविको साधन र स्रोत पूर्ण रूपमा सदुपयोग हुने र आधुनिक माविलाई आवश्यक स्रोतको समेत सहजै पूर्ति हुनेछ ।
‘कार्यदलले अध्ययन प्रतिवेदन बुझाएपछि संघ र प्रदेश सरकारले समेत आवश्यक लगानी विद्यालयमा गर्नुपर्छ’ उनले भने । दुवै विद्यालय मर्जपश्चात खेलकुद मैदान, विज्ञान ल्याब, पुस्तकालय तथा अन्य भौतिक पूर्वाधार निर्माण हुने विश्वास वडा अध्यक्ष सिग्देलको छ ।आधुनिकमा करिब २८ सय र भुटनदेवीमा २२ सय बालबालिका अध्ययनरत छन् । भुटनदेवीमा प्राविधिक धारका विषयमा पनि अध्यापन गराइन्छ । दुबै विद्यालय एकीकृत गर्दा अहिले नै ५ हजार विद्यार्थी हुनेछन् ।
नेपालको सबैभन्दा ठूलो मानिएको बुटवलको कालिका माविमा करिब ८ हजार विद्यार्थी रहेका बताइन्छ । केही समय अघि वडाध्यक्ष सिग्देल दुबै विद्यालयका प्रअ, शिक्षा विकास महशाखाका कर्मचारी, शिक्षक सहितको टोलीले उक्त विद्यालयको अवलोकन समेत गरेको थियो ।

