मकवानपुर । ट्राफिक प्रहरी कार्यालय मकवानपुरले ‘शुभयात्रा अभियान’ सुरु गरेको छ । सवारी दुर्घटना न्यूनीकरणका लागि कार्यालयले अभियान सुरु गरेकाे हाे ।
जिल्लामा मोटरसाइकलकाे दुर्घटना बढी हुने गरेकाले मोटरसाइकल चालक लक्षित गरी अभियान सुरु गरिएकाे कार्यालयले जनाएकाे छ । माेटरसाइकल चालकलाई सुरक्षित यात्रा गर्न प्रोत्साहित गर्ने उद्देश्यले शुभयात्रा अभियान सुरु गरिएकाे जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर प्रमुख केशव अधिकारीले जनकारी दिए ।
अधिकारीका अनुसार अभियान अन्तर्गत ट्राफिक प्रहरीले चालकलाई शुभकामना दिनुका साथै सुरक्षित यात्राका लागि सचेत गराउने छन् । “शुभयात्रा मात्रै नभनी नमस्कार,आरामसँग चलाउनुहोस्, पछिल्लो समय मोटरसाइकल दुर्घटना बढेकाले तपाईंहरूको विवरण राख्दै सुरक्षित यात्राको कामना गर्छौं” भन्दै ट्राफिक प्रहरीले चालकलाई सचेत गराउने गरेका छन् ।
यसैगरी हेलमेट लगाउन, मादक पदार्थ सेवन गरेर सवारी नचलाउन र जीवनको महत्व बुझ्न प्रहरीले सम्झाउने गरेको अधिकारीले बताए ।

