मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिक वडा नम्बर १२ मा पुरुष भलिबल प्रतियोगिता हुने भएको छ ।
१२ नम्बर वडा खेलकुद विकास समितिको आयोजनामा माघ १६ गतेदेखि १९ गतेसम्म भलिबल प्रतियोगिता हुन भएको हो । समितिले मंगलबार पत्रकार भेटघाट गरि प्रतियोगिता सम्बन्धी जानकारी गराएको हो । प्रतियोगिताका संयोजक मनोज लामाले हात्तीगौडास्थित बुद्ध माध्यमिक विद्यालयको भलिबल कोर्टमा खेल हुने जानकारी दिए ।
प्रतियोगिताको उपाधि विजेता टिमले ५० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यसैगरी उपविजेता टिमले ३० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्नेछ । यस्तै, विधागत उत्कृष्ट खेलाडीहरुका लागि पनि ट्रफी र नगद पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगिता आयोजनाका लागि वडा कार्यालयले एक लाख २५ हजार रुपैयाँको बजेट विनियोजन गरेको छ ।यसैगरी प्रतियोगिताको प्रथम पुरस्कार हेटौंडा–१० स्थित नारायणी कलेजले प्रायोजन गर्ने बताइएको छ । प्रतियोगितामा १९ वटै वडाबाट १/१ टिमको सहभागिता जनाउन पाउने आयोजकले जनाएको छ । हेटौंडा उपमहानगरपालिकाका १९ वटै वडालाई समेट्ने गरी प्रतियोगिताको आयोजना गर्न लागिएको संयोजक लामाले बताए ।
प्रतियोगिताको लागि करिब ३ लाख रुपैयाँ खर्च हुने आयोजकको अनुमान गरेको छ । कार्यक्रममा नारायणी कलेजका प्राचार्य रघुनाथ खराल, १२ नम्बर वडा खेलकुद विकास समितिका अध्यक्ष दिनेश चौलागाईंको आतिथ्यता रहेको थियो ।

