मकवानपुर । मकवानपुरकाे हेटौंडामा टोपी दिवस मनाइएकाे छ । नेपाली संस्कृति, परम्परा र राष्ट्रिय पहिचानको धरोहरका रुपमा रहेको नेपाली टोपीको महत्व र गरिमालाई उच्च राख्न १२ औं अन्तर्राष्ट्रिय नेपाली टोपी दिवस हेटौंडामा र्याली र कार्यक्रम गरी मनाइएको छ ।
लियो क्लब अफ हेटौंडा भुटनदेवी सेन्टिनियल, लियो लाइन्स क्लब अफ हेटौंडा, स्वर्णिम भविष्य र लियो जिल्ला परिषद् ‘एस’ नेपाल एरिया–२ को संयुक्त प्रयासमा कार्यक्रम गरिएको हो । ‘सबै पोशाकको सम्मान, नेपाली टोपी नेपालको पहिचान’ भन्ने मुल नारासाथ हेटौंडा उपमहानगरपालिका ४ हुप्रचौरबाट शुरु भएको र्याली शितलमहल चोक, पारिजातपथ र सीमाचोक हुँदै बुद्धचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
हेटौंडा ४ का वडाध्यक्ष नविन सिग्देलले नेपाली टोपीलाई एउटा पोशाकका रुपमा मात्र नहेरी यसलाई नेपाली स्वाभिमान, संस्कृति र इतिहासको जीवन्त प्रतीकका रुपमा हेर्नुपर्ने बताए । ‘नेपाली टोपी हाम्रो गौरव र विशिष्ट पहिचान हो । यसको महत्वलाई हामीले दैनिक जीवनमा उजागर गर्नुपर्छ’ उनले भने । नेपाली टोपीको प्रवर्द्धनले व्यापार र पर्यटन क्षेत्रमा पनि महत्वपूर्ण योगदान पुर्याउन सक्ने उनले बताए ।
लियो जिल्ला परिषद् नेपालका सचिव रुपक कालीराजले अंग्रेजी नयाँ वर्षलाई नेपालीपनको रंगमा रङ्ग्याउन अभियान शुरु गरिएको र यसलाई अझ व्यापक बनाउन सबैको सहयोग आवश्यक रहेको बताए । कार्यक्रममा ‘टोपी लगाऔं, राष्ट्रियता जोगाऔं’ र ‘हाम्रो शान, हाम्रो पहिचानः नेपाली टोपी’ जस्ता प्रेरणादायी नारा थिए । २ सय भन्दा बढी टोपी निःशुल्क वितरण गरिएको कार्यक्रममा मकवानपुरका विभिन्न क्षेत्रका अग्रणी व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी, खेलाडी र युवाको उल्लेख्य सहभागिता थियो ।
कार्यक्रमका सहभागीले ढाका टोपी र भादगाउँले कालो टोपीलाई राष्ट्रिय पहिचानको आधिकारिक प्रतीकका रुपमा मान्यता दिन सरकारसँग माग गरेका छन् । कार्यक्रममले ‘नेपाली टोपीः हाम्रो मन, हाम्रो पन’ भन्ने सन्देशलाई अझ बलियो बनाएको र नेपाली टोपीको विश्वव्यापी पहिचान स्थापित गर्ने दिशामा महत्वपूर्ण कदम चालेको सहभागीको भनाइ छ । अभियानले नेपाली टोपीको संरक्षण र प्रवर्द्धन गर्दै राष्ट्रिय पहिचान र एकतालाई बलियो बनाउने कार्यमा महत्वपूर्ण योगदान पुर्याउँदै आएको छ । र्
हेटौंडा उपमहानगर कार्यपालिका प्रमुख मीना लामाले अन्तर्राष्ट्रिय नेपाली टोपी दिवसका अवसरमा आयोजित अन्तरक्रियामा नेपाली टोपीलाई स्वदेशी उत्पादन र प्रयोगको प्रतीकका रुपमा संरक्षण गर्नुपर्ने बताएकी छन् । लियो क्लबका पदाधिकारीसँग छलफल गर्दै लामाले नेपाली टोपीले स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्दै विश्वमाझ नेपालको शान र पहिचान कायम गर्न महत्वपूर्ण भूमिका खेल्ने बताइन् । अन्तरक्रियामा सहभागीले टोपी दिवसले साँस्कृतिक जागरण ल्याउँदै युवापुस्तालाई राष्ट्रियता र परम्पराप्रति थप उत्तरदायी बनाउने विश्वास व्यक्त गरेका थिए ।
टोपी दिवसको अवसरमा मकवानपुरका पत्रकारलाई टोपी उपहार दिइएकाे छ । टोपी दिवसमा नेपाली टोपीको महत्वलाई उजागर गर्दै उपहार प्रदान गरिएको बताइएकाे छ । लियो क्लब अफ हेटौंडा भुटनदेवी सेन्टिनियलले मकवानपुरका पत्रकारसँग शुभकामना तथा अन्तर्क्रिया समेत गरेको थियाे । कार्यक्रममा नेपाल पत्रकार महासघ मकवानपुर उपाध्यक्ष ध्रुव अधिकारीलगायत मकवानपुरका सञ्चारकर्मीको उपस्थिति थियो ।
पत्रकार महासघ मकवानपुर उपाध्यक्ष अधिकारीले नेपाली पहिचानको प्रतीक टोपीको सम्मान र यसको प्रचारप्रसारमा योगदान गर्न यस्तो कार्यक्रम महत्वपूर्ण हुने बताए । टोपी दिवसले राष्ट्रिय पोशाकप्रतिको गर्व बृद्धि गर्ने र साँस्कृतिक एकताका लागि सन्देशप्रवाह गर्ने सहभागी पत्रकारले बताए । यस पटक टोपी दिवसलाई थप विशेष बनाउन पत्रकारमाझ समाजसेवा र साँस्कृतिक संरक्षणका विषयमा छलफल गरिएको थियो ।
सन् २०१३ नोभेम्बर २६ मा नेपाली ढाका टोपीलाई विश्व सामु चिनाउने अभिप्रायले अन्तर्राष्ट्रिय नेपाली ढाका टोपी दिवस हरेक अंग्रेजी बर्षकाे जनवरी १ तारिखका दिन मनाउने निर्णय भएकाे थियाे । नेपालि टोपीको प्रयोगलाई अझ व्यापक र विश्वमय बनाउने उद्धेश्यले सन् २०१४ जनवरी १ बाट संसारभर अन्तर्राष्ट्रिय नेपालि टोपी दिवश मनाउँदै आइएको छ ।
ढाका टोपीलाई सगरमाथाको शिर जस्तै अट्लताको संज्ञा प्रदान गरिन्छ । नेपालमा धेरै प्रकारका टोपी प्रयोग भए पनि भादगाँउले र पाल्पाली ढाका टोपी मुख्य हुन् । ढाकाको राजधानीको रूपमा तेह्रथुम र पाल्पा घोषित समेत भएका छन् ।

