मकवानपुर । मकवानपुरकाे मनहरी गाउँपालिका ५ बसन्तपुरमा मान्छे र बाख्रा मारी जंगलतिर भागेको बाघलाई नियन्त्रणमा लिइएकाे छ । बाघलाई मनहरी बसन्तपुर स्थित सुकौरा खोलाबाट नियन्त्रणमा लिइएकाे हाे ।
१४ पुसमा घाँस काट्न निस्केकी कान्छीमाया रुम्बाकाे उक्त बाघकाे आक्रमणबाट मृत्यु भएकाे थियो । यसैगरी साेही राती स्थानीय सुर्य बहादुर मोक्तानकाे ७ वटा बाख्रा समेत मारेकाे थियाे । बाघ शिकार खोज्दै पुनः गाउँ फर्कने क्रममा डार्ट गरिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ । पर्सा राष्ट्रीय निकुन्ज र चितवन राष्ट्रीय निकुन्जको टोली डार्ट गरेर बाघलाई नियन्त्रणमा लिएकाे हाे ।
चितवन राष्ट्रिय निकुन्ज तथा पर्सा राष्ट्रिय निकुन्जका प्राविधिकहरु,नेपाली सेना, जनप्रतिनिधिसहितको टोलीले मरेको बाख्रा देखाएर बाघलाई आकर्षित गरी डार्ट गरेर नियन्त्रणमा लिएका हुन् । टाढैबाट गोली हाने जसरी बाघ वा अन्य वन्यजन्तुलाई सुईमार्फत बेहोस बनाउने औषधी लगाउने प्रक्रियालाई डार्ट गर्ने भनिन्छ ।
बाघ आउने सम्भावित बाटोमा बाघले मारेका बाख्रा राखिएकामा मंगलबार साँझ बाघ आएको थियाे । बाख्रा खाने क्रममा उक्त टोलीले डार्ट गरेकाे मनहरी गाउँपालिका ५ नं वडाध्यक्ष दिपेन्द्र अधिकारीले जानकारी दिए । बाख्रालाई घिसार्ने क्रममा डार्ट गरिएको र केही परमात्रै बाघ बेहोस अबस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ । डार्ट गरिएपछि शिकार राखिएको वरपर ४ वटा हात्ती प्रयोग गरेर बाघको खोजी गरिएको थियो । बेहोस् अबस्थाको बाघलाई पर्सा राष्ट्रिय निकुन्ज लगिएकाे प्रहरीले जनाएकाे छ ।

