मकवानपुर । नेपाली काँग्रस मकवानपुरले ४९ औं मेलमिलाप तथा राष्ट्रिय एकता दिवस मनाएकाे छ । उक्त दिवसकाे अवसरमा मंगलबार कांग्रेस मकवानपुरले हेटौंडामा आयोजना गरेको कार्यक्रमलाई महामन्त्री गगन थापाले सम्बोधन गरेका छन् ।
महामन्त्री थापाले नेपाली कांग्रेसका सबै तहका जनप्रतिनिधिले परिणाम आउनेगरी काम गर्नुपर्ने बताए । उनले जनताले २०७९ सालको निर्वाचनमा कांग्रेसलाई पहिलो पार्टी बनाएकाे बताउँदै काम गरेर देखाउने समय ३ वर्ष बाँकी रहेकाेले हामीले काम गरेर देखाउनु पर्ने बताए । ‘२०८४ सालको निर्वाचनमा पार्टीकाे घोषणापत्र मात्रै होइन अहिले गरेका कामकाे परिणामपत्र लिएर जनतामाझ जानुपर्छ ’ थापाले भने । ‘वर्तमान सरकार टिक्दैन भनेर हल्ला चलाइएकाे छ’ उनले भने ‘काँग्रेस एमालेकाे अहिलेकाे सरकार तीन वर्षसम्म निरन्तर रहन्छ ।’
यसैगरी थापाले पार्टीको महाधिवेशन समयमै हुने दाबी समेत गरेका छन् । ‘प्रतिबन्धित समयमा समेत महाधिवेशन गरेको पार्टीले समयमै महाधिवेशन गर्छ’ उनले भने । उनले पार्टी विधानअनुसार महाधिवेशन समयमै हुनेमा ढुक्क हुन समेत आग्रह गरे । ‘ढुक्क हुनुहोस् । महाधिवेशन हुन्छ कि हुँदैन भनेर रुवाबासी गर्न जरुरी छैन’ उनले भने । ‘नेतृत्वको विषयमा महाधिवेशनको समयमै सोचौंला । अहिले २०८१ मा छौं, काम गर्ने हो २०८४ को चुनावको चिन्ता गर्ने होइन,’ उनले भने ।
यसैगरी नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले एमाले–कांग्रेस गठबन्धनको सरकार बलियो जगमा उभिएको बाताउंँदै कसैको पद जोगाउन अहिलेको गठबन्धन नगरिएको जानकारी दिए ।
सुशासन, विकास र समृद्धिका लागि वर्तमान गठबन्धनको सरकार बनेको उनको भनाई थियाे । सरकार जिम्मेवार, जवाफदेही बनेर युवा पलायन रोक्न, रोजगारी सृजना, उत्पादन र उत्पादकत्व बढाउने विषयमा काम गर्नुपर्ने उनले बताए । ‘वर्तमान सरकारले नराम्रो नगरेको तर, नागरिकमा आशा जगाउन पनि सकेको छैन’ उनले भने । वर्तमान व्यवस्था जोगाउन एमाले–कांग्रेसको गठबन्धन बनेको समेत उनले दावी गरे । ‘नागरिकका लागि गणतन्त्र भन्दा राम्रो व्यवस्था अरु हुन सक्दैन’ बानियाँले भने ।
कार्यक्रममा नेपाली कांग्रेसका केन्द्रीय सदस्य मोहन आचार्य, प्रतिमा गौतम, अजयबाबु शिवाकोटी पूर्व सभापति रघुरमण न्यौपाने, कांग्रेस क्षेत्र नम्बर १ का सभापति दामोदर खनाल, क्षेत्र नम्बर २ (ख) का सभापति रन्जन कालाखेती, मनहरी गाउँपालिका सभापति प्रकाश वर्ताैलालगायतले मन्तव्य राखेका थिए ।
पार्टी सभापति बुद्ध लामाको सभाध्यक्षतामा भएको कार्यक्रममा नेपाली कांग्रेसका पूर्व सभापतिहरु, पार्टीमा लामो समय योगदान गरेका नेताहरुलगायत गरी करिब ३० जनालाई सम्मान गरिएको थियो । यस्तै कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गरेकाहरुलाई स्वागत गरिएकाे थियाे ।

