मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री बहादुर सिंह लामाले समयसापेक्ष प्राविधिक शिक्षा प्रदान गर्नुपर्ने बताएका छन् । शुक्रवार मकवानपुर बहुमुखी क्याम्पसको व्यवसाय इक्युवेशन सेन्टरको उद्घाटन गर्दै मुख्यमन्त्री लामाले यस्तो बताएका हुन् ।
बजारको माग अनुसारको व्यावसायिक तथा दक्ष जनशक्ति उत्पादनमा शिक्षालाई जोड्न आवश्यक रहेको उनले बताए । ‘सबैले गर्नुपर्छ भन्ने धारणाकाे विकास हुनुपर्छ‘ उनले भने ‘प्रविधिकाे जति प्रयाेग गर्याे उति क्षमतावान हुने हुदाँ साे प्रति निरन्तरता दिनुपर्छ ।’ उनले विदेशमा १८ घण्टासम्म काम गर्न सक्ने नेपाली युवाहरु नेपाल पढेपछि काम गर्नु हुन्न भन्ने मान्यता रहेकाे छ जुन परिवर्तन हुन जरुरी रहेकाे बताए ।
जुन बिषय पढेका छाै त्यही विषयमा विज्ञता हासिल गरी काम गर्नुपर्ने बताउँदै उनले भने ‘उद्योगलाई प्रबर्धन गर्ने शिक्षाकाे विकास गरिनु पर्छ ।’ उनले हाल कायम रहेको पाठ्यक्रमले प्रभावकारी रुपमा व्यावसायिक जनशक्ति उत्पादन गर्न नसकेकोले शैक्षिक पाठ्यक्रम समयानुकूल परिमार्जन गर्नुपर्ने बताए । उनका अनुसार औद्योगिक क्षेत्रसँग समन्वय गरेर अध्ययन अध्यापनको मोडल निर्माण गर्नुपर्छ । उक्त कार्यमा प्रदेश सरकारले नेतृत्वदायी भूमिका निर्वाह गर्ने उनले बताए ।
कार्यक्रममा पूर्वमुख्यमन्त्री डोरमणि पौडेलले विधार्थी पलायन हाल कै गतिमा हुने हो भने निकट भविष्यमा नेपालका वृद्ध आश्रमहरु जेष्ट नागरिकले भरिभराउ हुने बताए । उनले विद्यार्थी पलायनलाई रोक्न व्यवसाय इक्युवेशन केन्द्रले सहयोग गर्ने बताए । विद्यार्थीकै समष्टिगत विकासका लागि सेन्टरको स्थापना गरेको बताउँदै क्याम्पस प्रमुख यमप्रसाद सिलवालले भने ‘विद्यार्थीहरूको ज्ञान सिप क्षमता र सिकाइलाई व्यावसायिक रूपमा अघि बढाउन सेन्टरले भूमिका खेल्नेछ ।’ सिलवालका अनुसार विद्यार्थीहरूमा नवप्रवर्तन प्रतिको लगाव बढाउने, व्यावसायिक सोच तथा मनस्थितिको विकास, पेसा व्यावसायिक अभिवृद्धि गरेर उद्यमशीलता र रोजगारीको अवसर सृजना गर्नु सेन्टरको प्रमुख उदेश्य रहेकाे छ ।
मकवानपुर वहुमुखी क्याम्पस व्यवस्थापन समिति अध्यक्ष अनन्त पाैडेल सभाध्यक्षता तथा बागमती प्रदेशका मुख्यमन्त्री वहादुर सिंह लामाकाे प्रमुख आतिथ्यतामा भएकाे व्यवसाय इक्युवेशन सेन्टरको स्थापना कार्यक्रममा पुर्व मुख्यमन्त्री डाेरमणि पाैडेल, क्याम्पस व्यवस्थापन समिती उपाध्यक्ष अशाेक शाक्य, सदस्यहरु माइकल रामचन्द्र अर्याल, सर्केश घलान, कृष्णकुमार गुप्तालगायतकाे उपस्थिति थियाे ।

