मकवानपुर । मकवानपुरकाे हेटौडा उपमहानगरपालिका वडा नम्बर १६ बालमैत्री वडा घोषणा भएकाे छ । शुक्रबार हेटौंडा १६ नम्बर वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा गरिएकाे हाे ।
“बालबालिकामा लगानी; सुनिश्चित भविष्यको थालनी” नारासहित बालमैत्री स्थानीय शासनयुक्त, निकृष्ट बालश्रममुक्त र बाल विवाहमुक्त वडा घोषणा गरिएकाे हाे । नगर प्रमुख मिना कुमारी लामाले बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा प्रतिबद्धतामा हस्तक्षर गरेर १६ नम्बर वडालाई बालमैत्री घोषणा गरिन् । ‘वडा घोषणालाई उपमहानगरले अभियानको रुपमा सुरु गरिएको छ’ नगर प्रमुख लामाले भनिन् ‘अभियान सुरु गर्दा बालअधिकार हनन्, बाल विवाह र बालश्रम विरुद्व आवाज उठ्न सुरुवात भएको छ ।’
यसैगरी हेटौंडा–१६ नम्बर वडाका वडाध्यक्ष रामकृष्ण कोइरालाले बालमैत्री वडा घोषणाकाे लागि निर्धारित ५१ वटा सूचक पूरा गर्दै वडालाई बालमैत्री घोषणा गरिएकाे जानकारी दिए । वडामा १ हजार १ सय ७९ बालक र १ हजार २ सय १ बालिका रहेका छन् । सामुदायिक र संस्थागत गरी बाल विकास केन्द्रसहित ६ वटा विद्यालय संचालन रहेकाे वडामा २१ वटा बाल समूह र १ वटा बाल सञ्जालमा ५ सय २५ बालबालिका आबद्ध रहेकाे काेइरालाले जानकारी दिए ।
कार्यक्रममा बालमैत्री वडा घोषणा गर्न सहयोग पुर्याउने वडा सहजकर्ता, नगर सहजकर्ता, बालसमूह र विभिन्न संघसंस्थालाई प्रशंसा पत्र प्रदान गरिएको छ । कार्यक्रममा सांस्कृतिक कार्यक्रम तथा दोहाेरी कार्यक्रम समेत आयोजना गरिएको थियाे ।
यस अघि हेटौंडाकाे ८,२,७,१७,९,४,१०,११ र १९ वडा बालमैत्री स्थानीय शासनयुक्त वडा घोषणा भइसकेका छन् । हेटौंडा उपमहानगरपालिकाले १ फागुनमा बालमैत्री नगर घोषणा गर्ने तयारी थालिएकाे बताइएकाे छ । सन् २०३० भित्र नेपाललाई नै बालमैत्री स्थानीय शासनयुक्त घोषणा गरिने लक्ष्य सरकारको रहेको छ ।
हेटौंडा–१६ नम्बर वडाध्यक्ष रामकृष्ण कोइरालाको अध्यक्षता तथा हेटौंडा उपमहानगरपालिका प्रमुख मीनाकुमारी लामाको प्रमुख आतिथ्यतामा भएकाे बालमैत्री वडा घोषणा कार्यक्रममा नगर उपप्रमुख राजेश बानियाँ, उपमहानगरपालिकाका विभिन्न वडाका अध्यक्षहरु, सामाजिक संघ/सस्थाका प्रतिनिधिलगायतकाे सहभागिता रहेको थियो ।

