मकवानपुर । उमेर हदको कारण सेवा निवृत्त भएका प्रदेश प्रमुख कार्यालय बागमतीका लेखा अधिकृत भृगुराज खनाललाई सहकर्मीहरुले सेवाबाट बिदाई तथा सामाजिक काममा फेरी भेटौंला भन्दै शुभकामना दिएका छन् ।
२०५३ सालमा निजामति सेवा प्रवेश गरेका खनाल उमेर हदको कारण सेवा निवृत्त भएका हुन् । सेवामा प्रवेश गरेपछि अवकाश सामान्य प्रकृया भए पनि सेवा प्रतिकाे सम्मानका मुख्य भएकाे भन्दै बिदाइ कार्यक्रम गरिएकाे हाे । विभिन्न राजनीतिक कालखण्डमा विभिन्न चुनौतिहरु सामना गर्नु परेको स्मरण गर्दै बिदाइ कार्यक्रममा लेखा अधिकृत खनालले भने “जागिरे जीवन सहजै अवतरण गरिएला झै लाग्दैन थ्यो, इमान बचाएर काम गर्न धेरै मेहनत गर्नु पर्याे ।” सेवाकालीन समयमा कुनै कुनै कार्यालयमा सरुवा भएर जाँदा, काम सुरु गर्दा व्यर्थ हाजिर हुन आएछु भन्ने अवस्था समेत आएको उनले स्मरण गरे । विशेष गरी द्वन्द्वकालमा धेरै दबाव र धम्किहरु खेप्नु परेको उनले स्मरण गरे । “जति सकियो राज्यका लागि गरियो, आज फर्केर हेर्दा आफ्नो कामप्रति गौरव छ” खनालले भने ।
अवकाश प्राप्त जीवनमा पनि कुनै न कुनै रुपमा राज्यले उहाँको योगदान ग्रहण गरिरहने बिदाइ कार्यक्रममा प्रदेश प्रमुख कार्यालयका उप सचिव इमनाथ कंडेलले अपेक्षा गरे । “आफ्नो ज्ञान र अनुभव, सिपलाई आगामी दिनमा पनि शसक्त रुपमा प्रकट गर्नुहुनेछ, उहाँको सिकाइ, भोगाइबाट समाजले अझै धेरै पाउने छ भन्ने अपेक्षा गरेको छु” कंडेलले भने ।

कार्यरत रहदा कामको शिलशिलामा एक कार्यालयबाट अर्को कार्यालयमा सरुवा हुँदा समेत भावुक हुने मानवीय स्वाभाव रहेको बताउँदै सेवाबाटै निवृत्त हुँदा पनि गौरव गर्नुपर्ने अवस्था बनाउनु सक्नु, त्यो नै सम्पत्तिको रुपमा रहने कार्यलयका प्रवक्ता देवेन्द्र सापकोटाले बताए । “उहाँको अवकाशयुक्त जीवन स्वास्थ्य र सिर्जनशिल रहोस” सापकोटाले भने ।
खनाल अति नै सरल स्वभावको, समभाव, सहकार्यमा अब्बल व्यक्तित्व रहेकोले अवकाशपछिको उहाँको जीवन अझै उत्कृष्ट हुने कानून अधिकृत प्रकाश चपागाईले बताए । सेवा अवधिमा एक पटक पनि कामको क्रममा स्पष्टिकरण दिनु नपरेको र स–सम्मान निवृत हुनु पाउनु गौरवको सवाल रहेको चापागाँइले बताए ।

