मकवानपुर । मकवानपुर प्रहरीले लागूऔषध गाँजा २४२ किलोसहित ५ जनालाई नियन्त्रणमा लिएकाे छ । प्रहरीले ३ दिनकाे अवधीमा मकवानपुरबाट उक्त परिमाणकाे गाँजासहित ५ जनालाई नियन्त्रणमा लिएकाे हाे ।
बुधबार १६० किलो गाँजासहित गोरखा भिमसेन थापा गाउँपालिका–६ का २८ वर्षीय अमीर मियालाई मकवानपुर प्रहरीले नियन्त्रणमा लिएको हाे । मकवानपुरको भीमफेदी गाउँपालिका–२, भैंसेस्थित प्रहरी चेकपोष्टमा पालुङबाट हेटौँडातर्फ आउँदै गरेको प्र. न. ३–०१–०२३ च ८०४७ नम्बरको योद्धा गाडीबाट ३० वटा पोकामा १६० किलो गाँजा बरामद गरी थापालाई नियन्त्रणमा लिएकाे जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएकाे छ ।
यसैगरी सोमबार मकवानपुर प्रहरीले पुर्व पश्चिम लोकमार्ग अन्तर्गत हेटौडा उपमहानगरपालिका वडा नंबर–१९ तिनताप्केबाट ७१ किलो ७०० ग्राम गाँजा सहित राक्सीराङ गाउँपालिका वडा नंबर– ९ बस्ने २० वर्षीय मिलन घलान र सोही गाडीमा सवार सोही स्थानका २६ वर्षीय दावा थिङलाई नियन्त्रणमा लिएकाे थियाे । मनहरीबाट हेटौडातर्फ आउँदै गरेको प्रदेश ३–०१–०२४ च ३०५९ नम्बरको पिकअप गाडीबाट उक्त परिमाणकाे गाँजासहित उनीहरुलाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ ।
यस्तै आइतबार मनहरी गाउँपालिकाबाट १० किलो २५० ग्राम गाँजासहित २ जनालाई नियन्त्रणमा लिइएकाे प्रहरीले जनाएकाे छ । मकवानपुरको मनहरी गाउँपालिका-९ भलाद्मीचोकस्थित पुर्व पश्चिम सडकबाट उक्त परिमाणकाे गाँजासहित मनहरी गाउँपालिका- ८ बस्ने २८ वर्षीय रामकुमार परियार र मनहरी ९ बस्ने ३६ वर्षीय रामकुमार स्याङबोलाई प्रहरीले नियन्त्रणमा लिएकाे हाे । मनहरीबाट हेटौडा तर्फ आउदै गरेको ना १ ह ५०३३ नम्बरको अटोमा सवार उनीहरुलाई गाँजा सहित नियन्त्रणमा लिइएकाे मकवानपुर प्रहरीले जनाएकाे छ ।

