मकवानपुर । बागमती प्रदेश उद्योग, पर्यटन तथा वातावरण समिति सभापति आनन्द कुमार श्रेष्ठले प्रदेश हस्तकला ग्राम स्थापना तथा संचालनको सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक २०८१ को कार्यान्यनका लागि आफूहरुले जोड दिइरहेको बताएका छन् ।
जनपत्र मिडिया प्रालि हेटौंडाले आयोजनामा प्रदेश हस्तकला ग्राम स्थापना तथा संचालनको सम्बन्धमा ब्यवस्था गर्न बनेको बिधेयक २०८१, प्रदेश राजपत्रमा प्रकाशित भएपछी यसले सरोकारवाला पक्षलाई पार्ने प्रभावकारी कार्यान्वयनका विषयमा गरेकाे पत्रकार भेटघाटमा सभापति श्रेष्टले उक्त कुरा बताएका हुन् । उक्त कानून पाइलट प्रोजेक्टका रुपमा कार्यान्यन गर्न लागिएकाे समेत उनले जानकारी दिए ।
संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रम (युएनडीपी) को सहकार्यमा भएकाे कार्यक्रममा मकवानपुर हस्तकला संघका संस्थापक अध्यक्ष ज्ञानभक्त लामाले हस्तकलाको क्षेत्रमा धेरै काम भएको र यसलाई फराकिलो रुपमा बुझ्नका लागि प्रदेश सरकार र सांसदहरुलाई आग्रह गरे । हस्तकलाको क्षेत्रमा आफूले बिगत ५० वर्षदेखि काम गर्दै आएको तर राज्यले कुरा नबुझ्दा यस क्षेत्रमा थप समस्या भएको लामाले बताए ।
हस्ताकला संघका सल्लाहकार तथा नेपाल उद्योग बाणिज्य संघका पूर्व केन्द्रीय सदस्य सर्मिला डंगोलले हस्तकलाका कारण नेपाललाई बिदेशमा चिनाउन सकिएकोले यस क्षेत्रमा सरकारले विशेष ध्यान दिन जरुरी रहेको बताइन् । ‘हस्तकलाको क्षेत्रमा थोरै लगानीबाट धेरै कामदार राखेर काम गर्दा थप रोजगारीको समेत सृजना भएकाे छ’ डंगोलले भनिन् ‘यसक्षेत्रकाे लागि कानून मात्र होइन काम गरिरहेकाहरुलाई प्रोत्साहनका कार्यक्रम पनि सरकारले ल्याउनुपर्छ ।’
जनपत्र मिडियाले संसद सहयोग परियोजना संयुक्त राष्ट्रसंघीय विकास कार्यक्रमको सहयोगमा बिधेयक समितिमा छलफलमै रहेका बेला सरोकारवाहरुको सुझाब लिने कार्य गरेकाे मिडियाका अध्यक्ष हरि हुमागाईंले जानकारी दिए । उक्त कार्यक्रमबाट आएका सुझावहरुलाई समेटेर तीन महले लिखित समितिलाई बुझाइएको उनले बताए । त्यसपछी समिति हुँदै प्रदेश सभाबाट विधेयक पारित भई प्रदेश राजपत्रमा प्रकाशित भएको छ ।

