मकवानपुर । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य बढाएको छ ।
निगमले मंगलबार राति १२ बजेदेखि लागू हुनेगरी प्रतिलिटर पेट्रोलको मूल्य एक रुपैयाँ, र डिजेल तथा मट्टितेलको मूल्य चार रुपैयाँको दरले बढाएको हो ।
योसँगै तेस्रो वर्ग अन्तर्गत काठमाडौँ, पोखरा र दीपायलमा पेट्रोलको मूल्य १५९ रुपैयाँ, दोस्रो वर्ग अन्तर्गतका सुर्खेत र दाङमा १५८ रुपैयाँ र पहिलो वर्ग अन्तर्गतका बाँकी क्षेत्रमा १५६.५० रुपैयाँ कायम भएको निगमले जनाएको छ ।
त्यस्तै, डिजेलको मूल्य तेस्रो वर्ग अन्तर्गतका क्षेत्रमा १५१ रुपैयाँ, दोस्रो वर्ग अन्तर्गतका क्षेत्रमा १५० रुपैयाँ र पहिलो वर्ग अन्तर्गतका क्षेत्रमा १४८.५० रुपैयाँ कायम भएको छ ।
निगमले हवाई इन्धन र एलपी ग्यासको मूल्य भने यथावत रहेको जनाएको छ ।

