मकवानपुर । मकवानपुरकाे हेटौडामा रहेकाे सरकारी अस्पताल हेटौंडा अस्पतालकाे टिकट मोबाइलबाटै बुकिङ गर्न सकिने भएको छ ।
अस्पतालले सेवाग्राहीको सहजताको लागि मोबाइलमार्फत टिकट बुकिङ सेवा गर्ने भएकाे हाे । यो सेवा १ कार्तिकबाट लागू हुने अस्पताल प्रशासनले जनाएको छ । यो सुविधा लागु भएसँगै अस्पतालको सेवा लिनको लागि लामो लाइनमा बस्नु नपर्ने भएको छ । अस्पतालले नगद वा स्वास्थ्य बिमा दुवै प्रणालीबाट टिकट बुकिङकाे गर्न सकिने व्यवस्था गरेको जनाएकाे छ।
अस्पतालको नयाँ प्रणालीअनुसार, बिरामीले मोबाइल एपमार्फत कुनै पनि विभागमा जाँचका लागि सजिलै टिकट लिन सक्नेछन्। यसका साथै परिवारका अन्य सदस्यका लागि पनि यस एपमार्फत टिकट लिन सकिनेछ । अस्पताल प्रशासनले दिएको जानकारी अनुसार, जाँच गर्नुपर्ने मिति भन्दा अघिल्लो रात १२ बजेभित्रै टिकट बुकिङ गरिसक्नुपर्नेछ । जाँच हुने दिन बिहान टिकट बुक गर्ने सुविधा भने हाललाई उपलब्ध छैन ।
पुराना बिरामीले अस्पतालको आईडी प्रयोग गरेर पुनः जाँच गराउन सक्नेछन् भने नयाँ बिरामीले आफ्नो व्यक्तिगत विवरण भरेर टिकट बुकिङ गर्न सक्नेछन् । यो सेवाले अस्पतालमा आउने बिरामीलाई लामो लाइनमा बस्नुपर्ने समस्याबाट मुक्त गराउने बताइएको छ । बिरामीले एपमार्फत ल्याब रिपोर्ट पनि सजिलै हेर्न र डाउनलोड गर्न सक्ने प्रशासनले जनाएको छ । हेटौंडा अस्पतालले यो सेवा सुरु गरेर बिरामीलाई थप सुविधा दिने र स्वास्थ्य सेवा अझ प्रभावकारी बनाउने लक्ष्य राखेको छ ।
कसरी लिने सेवा ?
मोबाइलबाट टिकट बुकिङ गर्न अस्पतालको आधिकारिक वेबसाइटमा गएर एप डाउनलोड गर्नुपर्छ । त्यसपछि, आफ्नो मोबाइल नम्बर राखेर दर्ता गर्नुपर्नेछ । दर्ता गरेपछि कुन विभागमा जाँच गराउने, कुन चिकित्सक छनोट गर्ने र कुन मितिमा जाँच गर्नुपर्ने हो भन्ने जानकारी भरेर टिकट बुक गर्न सकिन्छ ।
यदि नगदमा जाँच गराउन चाहिएको भए ‘Pay Now” मा क्लिक गरेर भुक्तानी गर्न सकिन्छ । बिमा भएका बिरामीले आफ्नो बिमा नम्बर राखेर स्वास्थ्य बिमाको सेवा लिन सक्नेछन् । एक पटक टिकट बुक गरेपछि बिरामीले अस्पतालमा उपस्थित भइ काउन्टरबाट कार्ड लिनुपर्नेछ ।
स्टेप 01: यो QR Scan गर्नुहोस् वा https://bit.ly/3pBt30i जानुहोस्, हस्पिटल लिस्ट (अस्पताल सूची) मा हेटौंडा अस्पताल छान्नुहोस् र download गर्नुहोस्।
स्टेप 02: निवेदनमा आफ्नो मोबाइल नम्बर राखी दर्ता गर्नुहोस ।
स्टेप 03: तपाइँले चाहनु भएको बिभाग (कुन बिभागमा जचाउन पर्ने हो) सो छान्नुहोस् ।
स्टेप 04: चिकित्सकको नामावली भएमा सो समेत छान्नुहोस् ।
स्टेप 05: आफुलाई जचाउन पर्ने दिनको मिति छान्नुहोस् ।
स्टेप 06: तपाइँ यो अस्पतालको नयाँ वा पुरानो कुन बिरामी हुनुहुन्छ छान्नुहोस्, पुरानो भएमा अघिल्लो पटक जचाएको कार्ड हेरी तहाँ भएको हस्पिटल ID राख्नुहोस् ।
स्टेप 07: नयाँ बिरामीले आवश्यक सम्पूर्ण विवरण भर्नुहोस् । यसै १ एप मार्फत परिवारको सम्पूर्ण सदस्यको व्यक्तिगत विवरण भरि आवश्यक परेको खण्डमा जो व्यक्तिलाई चाहिएको हो, सोहि व्यक्ति/बिरामीको लागि टिकट लिन मिल्ने छ ।
स्टेप 08: नगदबाट जाँच गराउने हो भने Pay Now मा क्लिक गरि आफुलाई पायक पर्ने Payment Gateway छानेर पैसा तिर्नुहोस, वा नेपाल सरकारको स्वास्थ्य बिमा अन्तर्गत भए “म स्वास्थ्य बिमा कार्यक्रममा अनुबन्धित छु भनि स्वघोसणा गर्दछु” मा क्लिक गरि आफ्नो बिमा नम्बर राख्नुहोस् । बिमा नम्बर आफ्नो बिमा कार्डको माथिल्लो दायाँ पट्टि QR Code को तल रहेको हुन्छ । यो सुबिधा प्रयोग गर्न बिरामी वा बिमितको प्रथम सेवा बिन्दु “Hetauda Hospital”/ हेटौंडा अस्पताल अनिवार्य हुन पर्ने छ, नहुने बिरामीले रिफर कागजपत्र सहित यस अस्पतलमा नै गएर दर्ता गर्नु पर्ने छ ।
स्टेप 09: अब आफूले छानेको मितिमा उक्त टिकट लिएको विवरण बताई अस्पतालको काउन्टरबाट कार्ड लिन सक्नु हुनेछ । बिमाको हकमा बिमा कार्ड, र नगदको हकमा बिरामीको नाम र दर्ता गरेको मोबाइल नम्बर आवश्यक हुनेछ। कार्ड लिनको लागि टोकन लिन पर्दैन भने ओपिडिमा चिकित्सक रहने समय भित्र पुगी कार्ड लिन सकिन्छ ।

