मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका १६ मा करेन्ट लागेर २ बालिकाको मृत्यु भएको छ।
करेन्ट लागेर बारा निजगढ नगरपालिका १ बस्ने अन्दाजी ९ वर्षीया बालिका र मकवानपुर हेटौडा १६ बस्ने अन्दाजी ७ वर्षीया बालिकाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाइएको छ।
शनिबार दिउँसो हेटौंडा १६ चिसापानी चोकबाट २०० मिटर पश्चिम दक्षिण पर्ने कबर्ड हलको छेउमा ११ के.भीको पिन इन्सुलेटर भाँचिएको थियो । इन्सुलेटर भाँचिएर फलामको पोलमा सर्ट भई पोल हुदै पोलको फेदमा जमेको पानिमा विद्युत प्रवाह हुदा पोल नजिक जमेको पानी भएर हिडिरहेका २ बालबालिकाको करेन्ट लागेर मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
प्रहरीका अनुसार करेन्ट लागेर घाइते भएका उनीहरूको उपचारको क्रममा हेटौंडा अस्पतालमा ज्यान गएको हो । घटनाको सम्बन्धमा आबश्यक अनुसन्धान भइरहेको मकवानपुर प्रहरीले जनाएको छ ।

