मकवानपुर । काठमाडौं-तराई-मधेश द्रुतमार्ग निर्माणको काममा खटिएका मजदुरबीच झगडा हुँदा एक जना घाइते भएका छन् ।
द्रुतमार्गअन्तर्गत मकवानपुरको बकैया गाउँपालिका–११, घट्टेपाखामा मजदुरबीच शुक्रबार साँझ भएको झगडामा छुरा प्रहार हुँदा ओखलढुङ्गा जिल्लाका २५ वर्षीय निम शर्मा घाइते भएको बागमती प्रदेश प्रहरी कार्यालय हेटौँडाले जानकारी दिएको छ ।
बागमती प्रहरीका अनुसार कैलाली धनगढीका २६ वर्षीय करण रानाले शर्मालाई छुरा प्रहार गरेका थिए । छुरा प्रहारबाट शर्माको दायाँ हातको नाडीको नशा काटिएकोमा हेटौँडास्थित सन्चो अस्पतालमा उपचार भइरहेको छ । ठिङन इलाका प्रहरीले छुरा प्रहार गर्ने रानालाई पक्राउ गरेको जनाएको छ ।

