मकवानपुुर । विगत ३ दिन देखि परेको अविरल वर्षाको कारण बागमती प्रदेशका १० जिल्लामा २८ जनाको ज्यान गएको छ । बागमती प्रदेशको काठमाडौं, ललितपुर र भक्तपुरबाहेक जिल्लामा ११ र १२ असोजमा २२ जनाको ज्यान जाुका साथै २५ जना बेपत्ता भएका छन् भने ३१ जना घाइते भएका छन् ।
बागमती प्रदेश प्रहरी कार्यालय हेटौंडाका अनुसार दुई दिनमा बाढी, पहिरोलगायतका विपदका घटनाबाट सबैभन्दा बढी मृत्यु हुनेमा काभ्रेपलाञ्चोक जिल्लामा १० जना रहेका छन् । बाढीपहिरोबाट काभ्रेपलाञ्चोक जिल्लामै ११ जना बेपत्ता र ११ जना घाइते भएका छन् । मकवानपुर जिल्लामा ७ जनाको मृत्यु भएको छ भने सिन्धुपाल्चोकमा बाढीपहिरोबाट ६ जनाको मृत्यु भएको छ । यहाँ ४ जना बेपत्ता र १६ जना घाइते, दोलखामा पहिरो खसेर ३ जनाको मृत्यु १ जना घाइते भएको प्रदेश प्रहरी कार्यालयका निमित्त प्रवक्ता प्रहरी नायव उपरीक्षक जीतेन्द्र बस्नेतले जानकारी दिए ।
यसैगरी धादिङ र सिन्धुलीमा १–१ जनाको मृत्यु भएको छ भने । धादिङ र सिन्धुलीमा १–१ जना घाइते भएका छन् । धादिङमा ३ जना बेपत्ता भएको प्रहरीले जनाएको छ ।
शनिबार मकवानपुरको इन्द्रसरोबर गाउँपालिका–३, स्थित बत्सलादेवी माविको एन्फा एकेडेमीमा रहेका बालक पहिरोले पुरिएर ६ जना विद्यार्थीको मृत्यु भएको छ । मकवानपुरको बागमती गाउँपालिका वडा ३ मा पहिरोमा परेर एक महिलाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।
यता पहिरोमा बेपत्ता भएको एन्फाका ६ विद्यार्थी मध्ये सबैको शव भेटिएको गाउँपालिका अध्यक्ष देवकृष्ण पुडासैनीले जानकारी दिए । शव हेटौंडा अस्पताल ल्याउने तयारी भएको मकवानपुरका प्रमुख जिल्ला अधिकारी तीर्थराज चिलुवालले जनाएका छन् । उनीहरुको सनाखत हुन बाँकी रहेको जनाएको छ ।
चितवन, नुवाकोट, रसुवा र रामेछापमा विपदबाट हालसम्म मानवीय क्षति नभएको डीएसपी बस्नेतले जानकारी दिए । विपदका घटनाबाट १५ वटा पशुचौपायाको मृत्यु भएको प्रहरी तथ्याङ्क छ । ६६ वटा घरमा पूर्ण र २ वटा घरमा आंशिक क्षति पुगेको डीएसपी बस्नेतले जानकारी दिए । १९२ परिवार प्रभावित क्षेत्रबाट स्थानान्तरण भएको उनले बताए ।
मकवानपुर जिल्ला इन्द्रसरोबर वड नम्बर ३ सिस्नेरीको पहिरोमा ६ जना विद्यार्थी परेका थिए । सिस्नेरी स्थिति अखिल नेपाल फुटबल संघद्वारा संचालित एन्फा एकेडेमीमा रहेका ६ विद्यार्थी पहिरोमा पुरिएका हुन् । अखिल नेपाल फुटबल संघ (एन्फा) ले मकवानपुरमा राखेको युथ–१४ क्याम्पका ४० जना खेलाडीमध्ये ६ जना खेलाडी सम्पर्क बिहीन भएका थिए ।
एन्फाका अनुसार अनुपम घलान (मकवानपुर), आदित्य वलम्पाकी (सर्लाही) रियान्स आचार्य (काठमाडौं), सुमन योन्जन (मकवानपुर) विकल रेग्मी (निजगढ,बारा) र दिवस बानियाँ (मकवानपुर) पहिराेमा पुरीएका थिए ।
बिगत ३ दिनदेखि अविरल वर्षाका कारण शनिबार बिहान कुलेखानी जल विद्युत आयोजनाको ड्याम खोलिएको थियो । ड्याम खोलिएसंगै खोलाको सतह बढेपछी सुरक्षित स्थानतिर भाग्ने क्रममा छोटो बाटो रोजेका उनीहरू पहिरोको दलदलमा फसेको हुनसक्ने प्रहरीले जनाएको छ । एकेडेमीमा ४० विद्यार्थी थिए, ३४ जना सुरक्षित रहेको एकेडेमी संयोजक सुवासचन्द्र ठकुरीले जानकारी गराए ।
“कुलेखानीको पानी ओभर फ्लो भयो, भाग्ने क्रममा ति विद्यार्थीले छोटो बाटो रोजेर हिडे । तर, उनीहरु नै हिलो माटोमा परे । त्यसपछि बगाएको रहेछ” संयोजक ठकुरीले भने । एन्फाले गतवर्ष सिस्नेरीको श्री बत्सलादेवी माध्यमिक विद्यालयमा स्कुलसँग सहकार्य गर्दै विद्यार्थीलाई एकेडेमीमा राखेको थियो ।
ड्यामबाट फ्लो भएको बाढीले २ वटा पक्की पुल र एउटा बेलिब्रिजमा क्षति पुगेको छ । ५९ वटा घर तथा कार्यालय उच्च जोखिममा रहेको प्रदेश प्रहरी कार्यालयले जानकारी दिएको छ । बागमती प्रदेश प्रहरी कार्यालयबाट विपद्तका घटनामा उद्दारका लागि ४ हजार ११९ जना प्रहरी परिचालन गरिएको कार्यालयले जनाएको छ ।
अविरल वर्षाका कारण आएको बाढीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका –३, सिस्नेरीको इलाका प्रहरी चौकी बगाएको छ । यहाँको स्थानीयवासीको ३० घर पनि बगाएको इलाका प्रहरी कार्यालय सिस्नेरीले जनाएको छ । यहाँका २८ घर डुवानमा रहेको बताइएको छ । यता मकवानपुरको इपा पन्चकन्याको इपा बेसिमा रहेको २२ मेघा वाटको माण्डु हाइड्रो पावर पनि पुर्ण रुपमा बगाएको छ स्थानीयले बताएका छन् ।