मकवानपुर । मकवानपुर जिल्ला इन्द्रसरोबर वड नम्बर ३ सिस्नेरीको पहिरोमा ६ जना विद्यार्थी परेका छन् । सिस्नेरी स्थिति अखिल नेपाल फुटबल संघद्वारा संचालित एन्फा एकेडेमीमा रहेका ६ विद्यार्थी पहिरोमा पुरिएका हुन् ।
अखिल नेपाल फुटबल संघ (एन्फा)ले मकवानपुरमा राखेको युथ–१४ क्याम्पका ४० जना खेलाडीमध्ये ६ जना खेलाडी सम्पर्क बिहीन भएका छन् ।बेपत्ता विद्यार्थीहरुमा अनुपम घलान (मकवानपुर), आदित्य वलम्पाकी (सर्लाही) रियान्स आचार्य (काठमाडौं), सुमन योन्जन (मकवानपुर) विकल रेग्मी (निजगढ,बारा) र दिवस बानियाँ (मकवानपुर) रहेका जानकारी प्राप्त भएको छ ।
जसमध्ये ३ जनाको शब फेला परेको अपुष्ट खबर प्राप्त भएको छ । ३ जना अझै बेपत्ता छन् । बिगत ३ दिनदेखि अविरल वर्षाका कारण आज बिहान कुलेखानी जल विद्युत आयोजनाको ड्याम खोलिएको थियो । ड्याम खोलिएसंगै खोलाको सतह बढेपछी सुरक्षित स्थानतिर भाग्ने क्रममा छोटो बाटो रोजेका उनीहरू पहिरोको दलदलमा फसेको हुनसक्ने प्रहरीले जनाएको छ ।
एकेडेमीमा ४० विद्यार्थी थिए, ३४ जना सुरक्षित रहेको एकेडेमी संयोजक सुवासचन्द्र ठकुरीले जानकारी गराए । ‘कुलेखानीको पानी ओभर फ्लो भयो,भाग्ने क्रममा ति विद्यार्थीले छोटो बाटो रोजेर हिडे । तर, उनीहरु नै हिलो माटोमा परे । त्यसपछि बगाएको रहेछ,’ संयोजक ठकुरीले भने ।
एन्फाले गतवर्ष सिस्नेरीको श्री बत्सलादेवी माध्यमिक विद्यालयमा स्कुलसँग सहकार्य गर्दै विद्यार्थीलाई एकेडेमीमा राखेको थियो ।बाटो अबरुद्ध भएको ठाउँमा अझै प्रहरी पुग्न नसकेको मकवानपुर प्रहरी प्रमुख सिताराम रिजालले बताए ।
प्रहरी चौकी सहित ३० घर बगायो
अविरल वर्षाका कारण आएको बाढीले मकवानपुरको इन्द्रसरोवर गाउँपालिका -३, सिस्नेरीको इलाका प्रहरी चौकी बगाएको छ । यहाको स्थानीयवासीको ३० घर पनि बगाएको इलाका प्रहरी कार्यालय सिस्नेरीले जनाएको छ ।
यता मकवानपुरको इपा पन्चकन्याको इपा बेसिमा रहेको २२ मेघा वाटको माण्डु हाइड्रो पावर पनि पुर्ण रुपमा बगाएको छ स्थानीयले बताएका छन् ।
मकवानपुर-काठमाडौ र मकवानपुर सिन्धुली जोड्ने सबै राजमार्ग बन्द
अविरल वर्षाका कारण मकवानपुर- काठमाडौ जोड्ने सवै राजमार्ग अबरुद्ध भएका छन् । त्रिभुवन राजपथ, कान्ति लोकपथ, कुलेखानी-फाखेल, कुलेखानी-सिस्नेरी सडक सहित सबै सडक अवरुद्द भएका छन् । सबै राजमार्ग पहिरोको कारण अबरुद्ध भएका हुन ।
कुलेखानी–सिस्नेरी र कुलेखानी–फाखेलको सडकको विभिन्न स्थानमा पहिरो गई बाटो अवरुद्ध भएको भने यसैगरी कान्ति लोकपथको पनि विभिन्न स्थानमा पहिरो गएर सडक अवरुद्द भएको छ ।
त्रिभुवन राजपथको दामनमा पहिरो गई रुख ढलेको कारण सडक अवरुद्ध छ । पहिरोको कारण सडक अवरुद्ध हुँदा सयौं यात्री बाटोमानै अलपत्र परेका छन् ।
यता मकवानपुर जिल्ला बागमती गाउंपालिका ४ पाँच पाण्डव स्थित धरानचतरा सडक खण्डमा अबिरल बर्षाको कारण आएको बाढीले मकवानपुर र सिन्धुली जोड्ने बागमती खोलाको पुलको मकवानपुर जिल्ला तर्फको बाढी पसेर मकवानपुरबाट सिन्धुली जाने बाटो पूर्ण रूपमा अवरोध भएको झुरझुरे प्रहरीले जनाएको छ ।
मकवानपुरमा भीमफेदीमा रहेको बागमती खोलाको पक्की पुलमा बाढीले क्षति पुर्याएको छ । भीमफेदी गाउँपालिका-८ कान्तिलोकपथस्थित बागमतीको पुलमा बाढीले क्षति पुर्याएको हो । बाढीले पुलको केही भाग बगाएको भिमफेदी गाउँपालिका अध्यक्ष हिदम लामाले जानकारी दिए । बाढीले पुलमा क्षति पुर्याएपछि आवागन प्रभावित भएको छ ।