मकवानपुर । बागमती प्रदेश स्वास्थ्य मन्त्रालयले वर्षाका कारण विपद् प्रभावितलाई स्वास्थ्य सेवा दिन मातहतका कार्यलयहरुलाई निर्देशन दिएको छ । बिहीबारदेखि परेकाे अविरल वर्षाकाे कारण विपद् प्रभावितहरूलाई स्वास्थ्य सेवा दिन बागमती प्रदेश अन्तर्गतका सम्पूर्ण अस्पतालहरूलाई सतर्क रहन स्वास्थ्य मन्त्री किरण थापाले निर्देशन दिएका हुन् ।
प्रदेशका चिकित्सक, नर्सहरू, र स्वास्थ्यकर्मीहरूलाई आपतकालीन सेवाका लागि तयारी अवस्थामा राख्ने, औषधि र आवश्यक सामग्रीको भण्डार सुनिश्चित गर्ने, आपतकालीन अवस्थाका लागि अत्यावश्यक औषधि, उपकरण, र रक्तको आपूर्ति सुनिश्चित गर्ने, अतिरिक्त बेडको व्यवस्थासहित सम्भावित प्रभावितहरूको उपचारका लागि थप बेडहरू उपलब्ध गराउ उनले निर्देशन दिएका छन् ।
यसैगरी आपतकालीन सेवाहरूलाई प्राथमिकता दिने, राहत र उद्धारका लागि स्थानीय निकाय र अन्य सरोकारवाला निकायहरूसँग समन्वय गरी विपद् प्रभावितहरूको स्वास्थ्य उपचारमा सहयोग गर्ने, संक्रमण रोकथामका उपायहरू अपनाउने, बाढी तथा जलमग्न भएका क्षेत्रहरूमा फैलिन सक्ने संक्रमणको रोकथामका लागि आवश्यक स्वास्थ्य परीक्षण र उपचारको तयारी गर्ने, आपतकालीन सेवाका लागि सम्पर्क नम्बरहरू र जिम्मेवार व्यक्तिहरूको विवरण प्रत्येक अस्पतालमा उपलब्ध गराउने मन्त्रीस्तरीय निर्णय भएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ ।
मन्त्रालयले स्वास्थ्य निर्देशनालय, स्वास्थ्य आपूर्ति व्यवस्थापन केन्द्र, प्रदेश जनस्वास्थ्य प्रयोगशाला, प्रदेशका १३ वटै अस्पताल, १३ वटा जनस्वास्थ्य कार्यालयहरु, १३ वटै आयुर्वेद तथा वैकल्पिक चिकित्सालयलाई आवश्यक कार्यको लागि खटीन निर्देशन गरिएको स्वास्थ्य मन्त्री थापाले जानकारी दिए । प्राकृतिक प्रकोपका कारण भएको विपत्तिमा उपचार अभावमा मानवीय क्षति रोक्न मन्त्रालयले आवश्यक तयारी गरिसकेको समेत मन्त्री थापाले बताए ।