मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका वडा २ मा रहेकाे मानव निर्मित सबैभन्दा ठूलो ताल इन्द्रसराेवर भरिए पछी २ वटा ढाेकाहरु खाेलिएका छन् । आज विहान साँढे ४ बजे २ वटा ढाेका खाेलीएकाे हाे ।
हाल १ नम्बर ढोका र २ नम्बर ढोका खोलिएको छ । हाल १ नम्बर गेट २ मिटर र २ नम्बर गेट ३ मिटर खोली पानी निकालिएको हाे ।
ड्यामकाे ढाेकाहरु खाेलिएपछि मकवानपुरकाे सिस्नेरी डोढारे , कोगटे खोला दोभान इपा बेसी , माल्टा बेसी, फाप्लाङ्ग बेसी, बगुवा बेसी , ठिंगन बेसी , घयाटार बेसी , प्युटार बेसी , लुक्ने बेसी, मंथली बेतिनी , फापरबारी राईगाँउ तथा सिन्धुली, रौतहट र सरलाही जिल्लाको नदि आसपास सावधान रहन प्रशासनले आग्रह गरिएकाे छ ।
बिहीबारदेखिको अबिरल वर्षाको कारण मकवानपुर जिल्लामा अबस्थित ताल भरिपछी पानी ओभर फ्लाे भएकाे थियो । तालको जलाधार क्षेत्र रहेको दामन, पालुङ, बज्रवाराही, चित्लाङ, मार्खु र फाखेल क्षेत्रमा वर्षा भइरहेकाले पानीको तह बढिरहेको कुलेखानी जलविद्युत आयोजना (प्रथम) का प्रमुख तारादत्त भट्टले जानकारी दिए ।
३०० मिटर चौडाइ र ७ किलोमिटर लम्बाइको जलाशयमा समुद्री सतहबाट १ हजार ५३० मिटरसम्म पानी भण्डारणको क्षमता रहेको छ । शनिबार बिहान कुलेखानीमा जल सतह १ हजार ५३० मिटर मापन गरिएको कुलेखानी जलविद्युत आयोजनाले जनाएकाे छ। कुलेखानीमा प्रतिघण्टा ३० सेन्टिमिटर पानी भरिदै आएको छ ।
१ हजार ५३० मिटर पानी भण्डारण गने क्षमता रहेको तालको सतह भरिएपछी कुलेखानी स्वत ओभरफ्लो हुन्छ । आयोजना प्रमुख भट्टका अनुसार जलाशयमा पानी घटाउन ६० मेगावाट क्षमताको कुलेखानी विधुत आयोजना नीरन्तर संचालन गरिएको तथा जलाधार क्षेत्रको सिमखोलालाई डाइभर्ट गरिएको उनले बताए । सिमखोलाको ढोका बन्द गरेर जलाशयमा पानी आउन रोकिएको छ । सो खोला बन्द गरिएसंगै जलाशयमा प्रतिघण्टा पानी संकलन दर २० सेन्टिमिटर रहेको उनले बताए ।
कुलेखानी जलाशयबाट ३ वटा आयोजना सञ्चालनमा छन् । कुलेखानी प्रथम आयोजनाबाट ६० मेगावाट, दोस्रोबाट ३२ मेगावाट र तेस्रोबाट १४ मेगावाट गरी कुल १ सय ६ मेगावाट विद्युत् उत्पादन हुन्छ ।
गत वर्ष मनसुनमा कुलेखानीको जलसतह एक हजार ५२३।३ मिटर मात्रै भरिएको थियो। २०७९ सालमा भने मंसीरमा मात्रै कुलेखानी भरिएको थियो। यस आयोजनामा वर्षा अवधिमा पानी जम्मा गरेर हिउँदको सुक्खा याममा विद्युत् उत्पादन गरिन्छ।