मकवानपुर । मकवानपुरकाे हेटौंडामा भएको मकवानपुर जिल्लास्तरीय पुरुष भेट्रान्स भलिबलको उपाधि नारायणी कलेजले हात पारेकाे छ । प्रतियोगिता अन्तरगत शनिबार भएको फाइनल खेलमा नारायणीले भीमफेदी गाउँपालिकाको टिम टिमलाई ३–१ को सेटले पराजित गर्दै उपाधी कब्जा गरेको हो ।
हेटौंडा–४, हुप्रचौरस्थित भलिबल कोर्टमा भएको फाइनलकाे पहिलो सेट भीमफेदीले नारायणी कलेज २५-१८ ले जीतेकाे थियो । नारायणीले भीमफेदीलाई दोस्रो, तेस्रो र चौथो सेटमा क्रमशः २५–१५, २५–२१ र २५–१८ ले हराएकाे हो । उपाधि जितेसँगै नारायणी कलेजले ३० हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको छ ।
यसैगरी भीमफेदीको टिमले १५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्दै उपविजेतामा चित्त बुझाएकाे छ । खेलको प्लेयर अफ द डे मकवानपुरगढीका शंकर गौतम घोषित भए । उनले नगद २ हजार रुपैया र ट्रफी हात पारे । प्रतियोगिताको उत्कृष्ट खेलाडी नारायणीका प्रकाश चालागाईं घोषित भइ २ हजार रुपैयाँको नगद प्राप्त गरे । उत्कृष्ट प्रशिक्षक नरायणीका इश्वर छत्कुली, डिफेन्डर नारायणीकै नविन राजबाहक घोषित हुँदा भीमफेदीका उत्कृष्ट सेटर विनोद सुवेदी र उत्कृष्ट स्पाइकर रत्नसिद्धि लामा घोषित हुँदै जनही १ हजार रूपैयाँ प्राप्त गरेका छ्न् ।
नारायणी कलेजले सेमिफाइनलमा मकवानपुरगढी गाउँपालिकाकाे टिमलाई हराउँदै फाइनल यात्रा तय गरेकाे थियाे भने भीमफेदीले हेटौंडा १९ काे भेष्ट्रान्सलाई पराजीत गर्दै फाइनलमा स्थान बनाएकाे थियाे । केशवलाल श्रेष्ठ स्मृति केन्द्रीय प्रतिष्ठानको आयोजना तथा छहारी सेवा समाजको सहआयोजनामा ३ भदौबाट संचालन भएकाे प्रतियोगितामा ११ वटा टिमको सहभागिता रहेको थियो ।