मकवानपुर । महालक्ष्मी साहित्य पुरस्कार, २०८० बाट महाकाव्यकार मुना अर्याल सम्मानित भएकी छिन् । शनिबार मातृभूमि साहित्य समाज र महालक्ष्मी विकास बैंकले संयुक्त रुपमा उक्त पुरस्कारबाट मकवानपुरकी साहित्यकार अर्याललाई सम्मानित गरिएकाे हाे ।
उक्त पुरस्रकारकाे राशी ५१ हजार रहेकाे छ । बागमती प्रदेशका आन्तिरिक मामिला तथा कानून मन्त्री सुरजचन्द्र लामिछाने, समाजका अध्यक्ष कृष्णप्रसाद दाहाल, महालक्ष्मी विकास बैंकका क्षेत्रीय प्रवन्धक शम्भूप्रसाद पराजुलीले पुरस्कार प्रदान गरेका थिए ।
उक्त पुरस्कार भाषा, साहित्यको क्षेत्रमा योगदान पुऱ्याउने साहित्य सेवीहरूलाई २०५९ सालदेखि प्रत्येक वर्ष निरन्तर रूपमा प्रदान गरिँदै आएको अध्यंक्ष दाहालले जानकारी दिए । हालसम्म उक्त पुरस्कारबाट २० जना साहित्यकार सम्मानित भइसकेका छन् । समाजले २०५९ सालमा यती फाइनान्ससँगकाे सहकार्यमा उक्त साहित्य पुरस्कारको स्थापना गरेकाे हाे । यती फाइनान्स महालक्ष्मी विकास बैंकसँग मर्ज भएपछि २०७४ सालबाट साहित्य पुरस्कारको नाम महालक्ष्मी साहित्य पुरस्कार भएको हाे ।
त्यस्तै, समाजसेवी ईश्वर मैनालीले आफ्नो बुबाको स्मृतिमा स्थापित केशवलाल स्मृति मातृभूमि पत्रकारिता पुरस्कार २०८० बाट हेटौंडा सन्देश दैनिकका सम्पादक माधवप्रसाद न्यौपाने सम्मानित भएका छन् । उक्त पुरस्कारका राशी भने नगद १० हजार रहेको छ । यसैगरी मकवानपुर श्री सम्मानबाट मकवानपुरका अग्रज शिक्षाप्रेमी बद्रीनाथ शर्मा अर्याललाई सम्मानित गरिएकाे छ ।
मातृभूमि साहित्य समाज, मकवानपुर भाषा, साहित्य, कला, सङ्गीत र संस्कृतिको संरक्षण/संवर्द्धन गर्ने उद्देश्यले २०५६ सालमा स्थापित संस्था हो। समाजले विभिन्न विधामा १७ वटा पुरस्कार प्रदान गर्दै आएकाे छ ।