मकवानपुर । मकवानपुरको हेटौंडामा जारी वडास्तरीय टी–२० क्रिकेट प्रतियोगिताको उपाधि आयोजक नेपाल खेलकुद महासंघ ८ नम्बर वडाले हात पारेको छ ।
हेटौंडा –८, कमाने स्थित चन्द्रोदय माविको खेलमैदानमा शनिबारको फाइनल खेलमा वडा नम्बर ९ को ए टिमलाई ५ विकेटले पराजित गर्दै आयोजकले प्रथम टी–२० वडास्तरीय क्रिकेटकाे उपाधि जितेको हो । उपाधिसँगै आयोजकले नगद ५० हजारसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गरेको हाे ।
उपविजेतामा चित्त बुझाएको ९ एले २५ हजार रुपैयाँसहित शिल्ड, मेडल तथा प्रमाणपत्र प्राप्त गर्यो । टस जितेर आयोजक टिमले ब्याटिङको निम्तो दिएपछि हेटौंडा ९ ए ले ९ विकेटको क्षतिमा १५२ रन जोड्यो । ९ ए का लागि क्याप्टेन युविन बुढाथोकीले अविजित ९२ रन बनाए ।
१५३ रनको विजयी लक्ष्यसहित ब्याटिङको लागि मैदान उत्रिएको आयोजक खेलकुद महासंघले ११ ओभर ५ बलमा लक्ष्य भेट्टायो । आयोजक टिमका लागि रमेश उपाध्यायले ३४ बलमा अविजित रहँदै ७४ रन बनाए । शुक्रबारको पहिलो सेमीफाइनल खेलबाट हेटौंडा–८ ‘ए’ लाई १०२ रनले हराउँदै आयोजक खेलकुद महासंघ वडा–८ कमिटी र वडा–२ लाई २३ रनले हराउँदै वडा–९ ले फाइनलमा भेट पक्का गरेका थिए ।
नेपाल खेलकुद महासंंघ ८ नम्बर वडा कमिटीको आयोजनामा प्रतियोगितामा १९ टिमको सहभागिता रहेको थियाे ।